हेटौंडा, हेटौंडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो शेयर सदस्यको लाभांश कट्टा गरी शुद्ध तोरीको तेल वितरण गरेको छ ।
२०७८ साल असार मसान्तबाट संस्थाबाट शेयर खरिद गरी २०७९ असार मसान्त सम्मको शेयर लाभांश बचतबाट कट्टा हुने गरी शुद्ध तोरीको तेल वितरण गरेको हो । सहकारीले ५ हजार लाभांश बापत १ लिटर तेल शेयर सदस्यलाई वितरण गरेको सहकारीको अध्यक्ष मोतिलाल लामाले जानकारी दिए ।
‘लाभांशको रकमबाट तेल वितरण हुँदा शेयर सदस्यले लाभान्स पाए कि पाएनन् भन्ने कुरा थाहा हुन्छ ।’ सहकारीका अध्यक्ष लामाले भने –‘चितवन र सिमराबाट तोरी खरिद गरी संस्थाकै मेसिनबाट तेल उत्पादन हुने गर्दछ । तोरी एक कुइन्टलमा १३ देखि १४ हजार रुपैयाँ पर्न जान्छ ।’
सहकारीमा रहेका ११ सय जना लाभांश शेयर सदस्यलाई कार्तिक २ गतेसम्म सहकारीले तेल वितरण गर्ने सहकारीले जनाएको छ । सहकारीले विगत दुई वर्षदेखि तेल उत्पादन गर्दै आइरहेको छ । हेटौंडा ८ कै दुई जना स्थानीय बासीन्दाले तेल उत्पादनमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।






