हेटौँडा, हेटौँडा स्कूल अफ म्यानेजमेन्टले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने भएको छ । यही साउन ११ गतेदेखि शिक्षाशास्त्र संकाय अन्तर्गत कक्षा ११ मा पठनपाठन सुरु हुने म्यानेजमेन्टले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
शैक्षिक सत्र २०८१ बाट लागू हुने कार्यक्रमअन्तर्गत क्याम्पसले नेपाली, अंग्रेजी र गणित विषयमा १०/१० जनाका दरले ३० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा भर्ना गर्ने जनाएको छ । छात्रवृत्तिसँगै मासिक रु १ हजार पाकेट खर्च प्रदान गरिने क्याम्पसका प्रिन्सिपल पुरनबहादुर जोशीले जानकारी दिए। उनका अनुसार विद्यार्थीलाई पाठ्यपुस्तकमै सीमित नराखी व्यवहारिक सिकाइ, व्यक्तित्व तथा नेतृत्व विकासमा समेत सघाउने गरी कार्यक्रम डिजाइन गरिएको छ।
‘दक्ष शिक्षक नै उत्कृष्ट शिक्षाको आधार हुन्,’ प्रिन्सिपल जोशीले भने ‘हामी शिक्षक उत्पादनको लामो रणनीतिअन्तर्गत कक्षा ११ सुरु गर्दैछौं, दुई वर्षपछि यिनै विद्यार्थीलाई लक्षित गरेर स्नातक तहको कक्षा सञ्चालन गरिनेछ।’ पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनपश्चात रोजगारीको अवसर सुनिश्चित गरिने प्रिन्सिपल जोशीको दाबी छ। विद्यालयले नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरसँग सहकार्य गरी शिक्षाशास्त्र संकाय सञ्चालन गर्न लागेको हो।
नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालका अनुसार विद्यार्थीले व्यक्तित्व विकास, नेतृत्व सीप, प्रेरणामूलक कक्षा, र शिक्षण अभ्यास अनुभव गर्न पाउनेछन्। ‘विद्यार्थीलाई सातामा दुई–तीन दिन प्रेरणात्मक कक्षा, पुस्तक परिचर्चा, शिक्षा संवादजस्ता गतिविधिमा सक्रिय गराइनेछ’ उनले भने। साथै विशेष दिनमा निःशुल्क खाजाको व्यवस्था र अनुभवी प्रशिक्षकबाट मेन्टरिङ समेत गराइनेछ। विद्यार्थीहरूलाई तीन समूहमा विभाजन गरी विद्यालयस्तरका विषय र शिक्षण सीप सिकाइने उनले बताए ।
नवोदय शिशु सदन ल्याब स्कुलको रूपमा प्रयोगात्मक कक्षा सञ्चालनमा सहयोग गर्नेछ भने नवोदय इनोभेसन सेन्टरले अभिप्रेरणात्मक कक्षा, मेन्टरिङ र विषयगत प्रशिक्षण उपलब्ध गराउनेछ। गैरनाफामुखी सामाजिक उत्तरदायित्वका रूपमा सुरु गरिएको शिक्षाशास्त्रमा रुचि भएका विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने विश्वास क्याम्पसले लिएको छ।






