हेटौंडा, हेटौंडा– ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन भएको छ । निर्वाचनबाट विद्यालय कप्तान र उपकप्तान चयन गरिएको छ । निर्वाचनबाट कप्तानमा कक्षा ९ ‘सम’ सेक्सनका रोज सिलवाल र उपकप्तानमा कक्षा ९ ‘देवकोटा’ सेक्सनकी पुर्णता गोर्खाली निर्वाचित भएका छन । कप्तान पदमा चार जनाको उम्मेदवारी रहेकोमा रोजले ३४३ मत गरेर विजयी हुँदा तिनजनाको उम्मेदवारी रहेको उपकप्तानमा पुर्णता ३५८ मत ल्याएर विजयी भइन ।
सोमवार विहान ११ बजे विद्यालयका प्रधानाध्यापक मनोज थिङ र नवोदय नवप्रवर्तन केन्द्रका प्रमुख निर्देशक अव्यक्त खनालले मतदान गरेर निर्वाचन कार्यक्रम उद्घाटन भएको थियो । निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्मका उपस्थित विद्यार्थी र शिक्षकहरूले मतदान गरेका थिए । यस वर्षबाट विद्यार्थी नेतृत्वको उपल्लो तहमा उपकप्तान पद थप गरिएको छ । अब केहि दिनमै विद्यालय प्रतिनिधि समूह र सदन नेतृत्व पनि चयन गरिनेछ । निर्वाचन कार्यक्रमको सम्पुर्ण नेतृत्व नवोदय निर्वाचन आयोगले गरेको थियो भने समग्र पर्यवेक्षण नेतृत्व सामाजिक विभागले गरेको थियो ।
विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्यमान्यता बारेमा व्यवहारिक ज्ञान प्रदान गर्दै समग्र निर्वाचन प्रक्रियाको बारेमा जानकारी दिन र नेतृत्व विकासको अवसर प्रदान गर्न नेपालमा हुने विभिन्न निर्वाचनकै ढाँचामा निर्वाचन गरिएको सामाजिक विभाग प्रमुख रविन्द्र कार्कीले बताए । उनले निर्वाचन कार्यक्रम सफल पार्न प्रमुख भुमिका खेल्ने विद्यार्थी नेतृत्व(निर्वाचन आयोग),पर्यवेक्षक समूह ,सिर्जनात्मक कला(क्रियटिभ आर्टस् सिए टिम),व्यवस्थापन,नेपाली विभाग लगायत सम्पुर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप परिस्कृत निर्वाचन गरिने बताए ।
यस वर्षको लागि नवोदय निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कक्षा १० ‘एभरेष्ट’का शिवम कुशवाह रहेका छन भने निर्वाचन आयुक्तहरूमा अनुषा उप्रेती , दर्शना सापकोटा ,विमर्श श्रेष्ठ र सक्षम कुमार झा रहेका छन । यस वर्ष पनि निर्वाचन अभियान ¥यालि , निर्वाचन बहस् , शून्य अवधि , मतदाता शिक्षा , मतदाता नामावलि संकलन, मतदान अधिकृत एव पर्यवेक्षण समूह चयन , मुचुल्का संकलन सहित मतगणनाको वास्तविक अभ्यास आदि कार्यहरूको विद्यार्थीहरूकै अग्रसरतामा वास्तविक अभ्यास गरिएको नवोदय निर्वाचन आयोगले जनाएको छ ।






