हेटौंडा, आइतबार मकवानपुरको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाइते भएका छन् । छुट्टाछुट्टै तीनवटा दुर्घटनामा ७ जना घाइते भएका हुन् । हेटौंडा–८ स्थित कर्रा पुल नजिक रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ४४ प.८९२० नम्बरको मोटरसाइकलसँग विपरित दिशाबाट जाँदै गरेको ना १ ह ९३८९ नम्बरको अटो ठोक्किँदा साइकल चालक समेत गरी तीनजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा १ चौकीटोल बस्ने २२ वर्षका महेश लामा, मोटरसाइकल पछाडी रहेका हेटौंडा ९ पशुपतिनगरका २६ वर्षका गोविन्द श्रेष्ठ, साइकल यात्री हेटौंडा ८ मैदाटोलका ७० वर्षीय तिलकबहादुर बुढाथोकी घाइते भएका छन् ।
तीनैजनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको हेटौंडामा उपचार भैरहेको छ । प्रहरीले हेटौंडा ८ कमाने बस्ने ५० वर्षीय अटो चालक ५० राममणि घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै हेटौंडा ८ गौरीचोक स्थित भित्री सडकमा कमानेबाट हेटौंडातर्फ जाँदै गरेको ना. २१ प. ९६४६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको हेटौंडा ८ कै १९ वर्षीया रेखा पुर्रकुटीलाई ठक्कर दिएको छ । उनको खुट्टा र शरीरको भित्री भागमा चोट लागेको प्रहरीले
जानकारी दिएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक हेटौंडा १७ हटियाका १८ को हिमाल भुजेल र पछाडी रहेकी हेटौंडा ७ नागस्वतीकी २२ वर्षीया गोमा तिमल्सिना समेत घाइते भएका छन् । तीनैजनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । मनहरी ९ ज्यामिरेस्थित पूर्वपश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन् । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको भे ८ प ६७८५ नम्बरको मोटरसाइकलले मनहरी ९ ज्यामिरेका श्रीकृष्ण पुरीको ५ वर्षीय छोरा रुप पुरीलाई ठक्कर दिँदा घाइते भएका हुन् ।
घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको र मोटरसाइकल चालक फरार भएकोले खोजी भैरहेको जिल्ला
प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







