उद्योगले दूधको रकम भूक्तानी नगर्दा मकवानपुरे किसान मारमा

हेटौंडा, दुध उत्पादक किसानले विक्री गरेको दूधको मूल्य उद्योगले भुक्तानी नगर्दा मकवानपुरे किसान मारमा परेका छन् । मकवानपुरका दुध किसानलाई करिव साढे २९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ र किसानबाट खरिद गरेको दूध उद्योगबाट ३० करोड ८३ लाख २४ हजार रुपैयाँ रकम उठ्न बाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणि दहालले जानकारी दिए ।

ADVERTISEMENT

‘जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरको १३ वटा उद्योग, काठमाडौंको ११ वटा उद्योग र पोखराको १ वटा उद्योगलाई दूध विक्री गर्दै आइरहेको छ ।’ व्यवस्थापक दहालले भने –‘सरकारी स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजनाबाट श्रावण महिनादेखि भुक्तानी बाँकी रहेको छ । त्यसैगरी हेटौंडा डेरी इण्डष्ट्रिजबाट भदौ महिनादेखि भुक्तानी बाँकी रहेको छ भने काठमाडौंका उद्योगबाट असोज १५ गतेसम्मको भुक्तानी भइसकेको छ ।’ दूध विक्री गरेर दूधको रकम नपाउँदा एउटा समस्या छ भने अर्को तर्फ दूध विक्री नहुँदा किसानहरु ‘मिल्क होलिडेको’ मारमा परेका छन् ।

बजारमा दूधको माग कम हुँदा असोज र कार्तिक महिनामा दुग्ध सहकारी संस्थाबाट दूध संकलन कार्य पनि बन्द गरेको व्यवस्थापक दाहालले बताए । औसतमा प्रति दिन ५५ हजार लिटर दूध संकलन गर्दै आइरहेकोमा दैनिक २० हजार लिटर दूधले बजार नपाइरहेको अवस्था रहेको उनले बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरमा ५३ वटा प्रारम्भिक संस्था आवद्ध रहेको र ९ वटा गैर सरकारी संस्थागरी ६२ वटा संस्थाबाट दूध संकलन गर्दै आइरहेको छ । यसैगरी संघले दुग्ध प्रशोधन उद्योग पनि सञ्चालन गरेको छ । दैनिक १ सय लिटर दूधबाट बनेका परिकारले पनि बजार पाउन नसकेकोमा उनले गुनासो पोखे । उद्योगबाट खुवा, दही, पनिर, मख्खन र घ्यू निर्माण भईरहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *