हेटौंडा, बुधबारबाट हिन्दू नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौ दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक हेटौंडामा सुरु भएको छ ।

छठ पूजा समारोह समितिको आयोजनामा हेटौंडामा हुने छठ पूजाको लागि विभिन्न तयारी भइरहेको समितिले जनाएको छ ।
छठ पूजाको लागि हेटौंडाको राप्तीतट सिङ्गारिदै छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।
यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ । बजारमा यी सामानहरु पनि बेच्न राखिएका छन् । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको लागि पहिलो दिन नुहाएर चोखो भई बस्ने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।
यस अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिवार्य रुपमा बार्ने चलन छ । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने भएकोले गर्दा हेटौंडाको राप्तीतट सरसफाई गरिएको छ । पवित्र मनले छठ मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास रहेको छ ।






