उपाधीको लागि आज रियल स्टार र एन्फा मकवानपुर भिड्ने

हेटौंडा, हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा जारी स्वर्गीय सुदर्शन घिमिरे स्मृति २१ वर्ष मुनीको हेटौंडा च्यालेन्जकप फुटबल प्रतियोगिताको उपाधीको लागि आज हेटौंडाको रियल स्टार क्लव र एन्फा मकवानपुर भिड्ने भएका छन् । सेमिफाइनलमा रियल स्टारले नवजनजागृति युवा क्लव सिमरालाई र एन्फा मकवानपुरले सहीद स्मृति क्लव बागमती गाउँपालिकालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

ADVERTISEMENT

दुवै टोलीले टाइब्रेकरमार्फत जित निकालेका हो । रियल स्टार र सिमरा बीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रियलले ४–३ गोलको जित निकालेको हो । सिमराको एउटा प्रहार रियलका गोलरक्षकले बचाएका थिए भने एउटा बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच रियलका सोहन मोक्तान घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । दोस्रो खेलमा एन्फा मकवानपुरले सहीद स्मृति क्लवलाई टाइब्रेकरमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत नतिजा निकालिएको हो । टाइब्रेकरमा एन्फा मकवानपुरका गोलरक्षक कृषल मोक्तान नायक बने । उनले सहीद स्मृतिको एउटा प्रहारलाई रोकेका थिए । मोक्तान नै खेलको म्यान अफ द म्याच हुँदै नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । फाइनल खेल बुधबार दिउँसो हुनेछ । १४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एकलाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले समेत नगद र ट्रफी प्राप्त गर्नेछन् । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित एफसी मुण्डियालले सुदर्शन घिमिरेको स्मृतिमा २१ वर्ष मुनिको फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *