हेटौंडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा नगर समितिले हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको कडा विरोध गरेको छ।
हालै सम्पन्न नगर परिषद्को सभाले विभिन्न क्षेत्रमा १०० देखि ३०० प्रतिशतसम्म कर वृद्धि गरेकोप्रति रास्वपाले विरोध गरेको हो । रास्वपाले यस निर्णयको घोर भर्त्सना र निन्दा गरेको छ।
पार्टीले वर्तमान आर्थिक मन्दीको अवस्थामा कर वृद्धि गर्नु अनुचित भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश नै आर्थिक मन्दीको मारमा परेर व्यवसायहरू धरासायी हुँदै, घर भाडा र राज्यको न्यूनतम नवीकरण पनि तिर्न नसक्ने स्थिति भई दिनानुदिन व्यवसायहरू बन्द हुँदै र विदेशिने क्रम जारी रहेको परिस्थितिमा कर वृद्धि गर्नु उचित होइन।’
रास्वपाले यस निर्णयमा सबै दलका जनप्रतिनिधिहरूको मिलेमतो रहेको आरोप लगाएको छ। पार्टीले उपमेयरको व्यवसायमा कर नबढाइएको भन्ने जनगुनासो रहेको पनि उल्लेख गरेको छ।
रास्वपाले हेटौंडा उपमहानगरपालिकाले बढाएको सम्पूर्ण कर खारेज गरी पुरानै दररेट कायम गर्न जोडदार माग गरेको छ।
विज्ञप्तिमा हेटौंडा उपमहानगर समितिका सभापति ध्रुव विष्ट, मकवानपुर निर्वाचन क्षेत्र नं १ का सभापति टाकाराज थापा र सोही निर्वाचन क्षेत्रका सचिव किशोर अर्यालले हस्ताक्षर गरेका छन्।







