हेटौंडा, चितवन क्रिकेट टिमलाई स्तब्ध पार्दै मकवानपुर भरतपुरमा सम्पन्न क्वाड्राङ्गुलर ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको विजेता बनेको छ ।

निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा मकवानपुरले चितवनलाई पाँच विकेटले पराजित गर्दै उपाधी जित्यो ।
चितवनसहित मकवानपुर, बारा र नवलपुर गरी चार जिल्ला सम्मिलित सिरिजमा चितवनले मात्रै लिग चरणका सबै खेल जितेको थियो । बाँकी तीन टिमले एक एक खेल मात्र जितेका थिए । मकवानपुरले लिग चरणका दुई खेल लगातार हारे पनि अन्तिम दिनको खेल जित्दै नेट रन रेटको आधारमा फाइनलमा पुगेको थियो ।
खेल अवधिभर १३ विकेट लिएका मकवनपुरका रिजन ढकाल वेष्ट बलरका साथै प्लेयर अफ द सिरिज भए । फाइनल खेलको प्लेयर अफ द म्याच पनि रिजन नै भए । यसैगरी एक अर्ध शतकसहित सिरिजमा कुल ९५ रन बनाएका चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट बलर भए ।
पर्साका सम्साद मनसुरीको क्याच प्रतियोगिताको उत्कृष्ट घोषित भयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रतियोगिताका विजेतालाई ट्रफी र मेडल तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
फाइनल प्रतिस्पर्धामा चितवनले दिएको १ सय २४ रनको लक्ष्य मकवानपुरले १९ औं ओभरको अन्तिम बलमा भेट्टायो । मकवानपुरलाई जिताउन सुभ कंसाकारले सर्वाधिक २७ रन बनाए । २३ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाएका उनी दानिस इकबालको बलमा एलबीडब्लु धरापमा परे ।
तक्षक सिंखडाले २४, रिजन ढकालले नटआउट २३, र सक्षम बस्ताकोटीले २० रन जोड्दै मकवानपुरको जित सुनिश्चित गरे । बलिङमा चितवनका दिवस आचार्य र दिपेश श्रेष्ठले २र२ तथा दानिस इकबालले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २३ रन बनायो । ७ ओभरमा ३२ रन जोड्दा सुरुआती ४ विकेट गुमाएको चितवनको पारी त्यसपछि सम्हालिएको थियो ।
चितवनका लागि क्रिजन गुरुङले सर्वाधिक ३१ रन बनाए । २२ बलमा २ चौका र २ छक्का प्रहार गरेका उनी समीर चौलागाईको बलमा क्लिन बोल्ड भए । १९ बलमा २० रन बनाएका दिपेश श्रेष्ठ रोहित ठाकुरको बलमा बोल्ड आउट भए ।
बलिङमा मकवानपुरका समिर चौलागाईले ३, रोहित ठाकुरले २ तथा रिजन ढकाल, असिम श्रेष्ठ र साकार गजुरेलले समान १ विकेट लिए ।







