हेटौंडा, नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलन आगामी पुस ३ गते हुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्मेलन बारे जानकारी दिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता एव् अर्थ मन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्मेलन हुने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । उनका अनुसार पुस ३ गते हेटौंडाको रोयल पार्टी प्यालेसमा सम्मेलन आयोजना गर्ने गरी तयारी गरिएको र उक्त सम्मेलनमा पार्टीका शिर्ष नेता, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायताकाको उपस्थिती रहने बताए । सम्मेलनमा १०२ वटा वडा, १० वटा पालिका, ६ वटा प्रदेश र संघीय निर्वाचन क्षेत्र समिति र जिल्ला कार्य समितिका २ हजार प्रतिनिधि उपस्थिती हुने उनको भनाई छ ।
सम्मेलनमा जिल्लाको संगठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रीत रहेर छलफल तथा बहस हुने सभापति लामाले बताए । सम्मेलनमा पार्टी संगठन भित्र देखिएका कमिकमजोरी, समस्याका विषयमा छलफल भइ हल गर्ने प्रयत्न हुने उनले बताए । उक्त सम्मेलनले कांग्रेसको आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने उनको भनाई छ ।
सभापति लामाका अनुसार सम्मेलनमा भएका छलफलका विषयलाई समेटेर राजनीतिक प्रतिवेदन तयार पारिनेछ । सम्मेलनलाई फरक बनाउन र पार्टीलाई आर्थिक सामाजिक रुपमा जोड्न फरक शैलीबाट छलफल र बहसहरु गरिने उनले बताए । सम्मेलनमा मकवानपुरको आर्थिक सामाजिक रुपान्तरणका विषयलाई जोड्न जिल्लाका १० वटै पालिकाका कृषि, पर्यटन तथा समाज रुपान्तरणका विषयमा प्रस्तुति तथा बहस गरिने उनको भनाई छ ।
सम्मेलनको तयारीका लागि सभापति लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिहरु गठन गरीएको छ । जस अनुसार राजनीतिक प्रतिवेदन लेखनका लागि सचिव भिमसेन महतलाई प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकीएको छ भने उपसभापति आनन्द कठायतलाई स्वागत समितिको संयोजक, सहसचिव इन्दिरा न्यौपानेलाई आर्थिक व्यवस्थापन उपसमितिको सभापति, प्रवक्ता अर्जुन चौलागाईँलाई प्रचारप्रसार उपसमितिको संयोजक तोकीएको छ ।
सम्मेलनमा १५ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए ।
सम्मेलनको खर्च व्यवस्थापनका लागि सहभागि प्रतिनिधिहरुबाट जनही २०० रुपैयाँ, जिल्ला पदाधीकारी र सदस्यहरुबाट एक हजार रुपैयाँ र महा समिति सदस्यहरुबाट एक हजार र १ हजार ५०० रुपैयाँका दरले शुल्क उठाउने निर्णय भएको सभापति लामाले बताए । सम्मेलनको खर्च व्यवस्थापनका लागि पार्टीका विभिन्न तहमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन गरिने उनको भनाई छ ।