हेटौंडा, थाहा नगरपालिका–४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी ९ करोड रुपैयाँ रहेको छ। ६ हजार ३ सय ८८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौँ महिनाभरि शेयर थप गरी उक्त अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीले बताए ।
शनिबार भएको सहकारीको हेटौंडा सेवा केन्द्रको २४ औँ प्रतिनिधिमूलक साधारण सभामा कार्यवहाक अध्यक्ष रायमाझीले शेयर सदस्यमाझ वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रम सार्वजनिक गरेका थिए । सहकारीको अन्य कोषहरु १५ करोड ९३ लाख ५४ हजार रुपैयाँ र कर्जा लगानी ९० करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको सहकारीको व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कर्जा लगानी ७ प्रतिशतले वृद्धि गरी ९६ करोड ९१ लाख कर्जा लगाउने पु¥याउने लक्ष्य रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरेको छ ।
संस्थाको आफ्नै स्वामित्वको जमिनमा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरीबाट विभिन्न जातका तरकारीहरुका विरुवा उत्पादन तथा खुल्ला जग्गामा तरकारी उत्पादन र बजारीकरण गरी सदस्यहरुलाई सुपथ मूल्यमा गुणस्तरीय बेर्ना तयार गरी उपलब्ध गराउँदा कृषक सदस्यहरु लाभान्वित भएको अध्यक्ष रायमाझीले बताए । यही पुस ९ गते पालुङ बहुउद्देश्यीय सहकारी संस्था २५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले रजत जयन्तीको कार्यक्रम
सञ्चालन गर्ने छ ।
पुस ९ गते सहकारीको आफ्नै भवनमा हुन लागेको साधारण सभाले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदको लागि उपनिर्वाचन हुने सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यवहाक अध्यक्ष सर्मिला डंगोलले बाहिरबाट आएको सहकारी संस्था पलायन हुने भएकोले स्थानीय तहबाट सञ्चालन भएको सहकारीमा पलायन हुने कुरामा डराउनु नपर्ने बताइन् ।
सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद् प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कार्यवहाक अध्यक्ष सर्मिला डंगोललगायतको आतिथ्यता रहेको थियो ।






