मङ्सिर ८ देखि नवौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने

हेटौँडा, मकवानपुरको बागमती गाउँपालिकामा आगामी मङ्सिर ८ गतेदेखि नवौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका ६ र मोफसलका ४ गरी १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

ADVERTISEMENT

बागमती खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक रहर सिं थिङले प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिँदै यस संस्करणमा १० टोलीको सहभागिता रहने बताए।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले फुटबल खेलको विकास, विस्तार र व्यवसायीकरणलाई प्रोत्साहन गर्नुका साथै प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए। गाउँपालिकाले ग्रासरुट तहदेखि नै फुटबलको विकास गर्ने लक्ष्यसहित आफ्नै लगानीमा फुटबल एकेडेमी सञ्चालन गर्नुका साथै खेलकुद पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिएको उनले बताए।

बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन्। विधागततर्फ उत्कृष्ट पाँच खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा फुटबल प्रशिक्षक मेघराज केसी, पत्रकार प्रताप विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya