हेटौंडा, मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव विहीबारबाट सुरु भएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी हुन् ।
महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ । मन्त्री खड्काले मकवानपुरको खेल क्षेत्रको विकासमा यो महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रतियोगिता तथा महोत्सवको शुभकामना व्यक्त गरिन् । बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले महोत्सवमा खेलसँगै स्थानीय उत्पादनलाई समेत प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उपमहानगरले खेल क्षेत्रमा आवश्यक लगानी गरिरहेको स्मरण गर्दै खेल क्षेत्रको विकासको परिकल्पना सहित आयोजित महोत्सवले यसमा टेवा पुग्ने धारणा राखिन् ।
हेटौंडा उपमहानगर १० नम्बर वडा अध्यक्ष फुर्वादोर्ज लामा, खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा, कार्यालय प्रमुख माधव कोइराला लगायतले महोत्सवको विरोध गर्नु गलत भएको धारणा राख्दै खेल क्षेत्रको विकासका लागि आयोजित कार्यक्रमलाई सबै क्षेत्रको सहयोग जरुरी रहेको बताए । महोत्सव उद्घाटन अघि हेटौंडाको हुप्रचौरबाट विभिन्न जातजातीको भेषभुषा, झाँकी र बाजासहित बजारको परिक्रमा गरिएको थियो ।
खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले महोत्सवबाट आएको रकम मकवानपुरको खेल क्षेत्रको विकासमा खर्च गरिने बताए । महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन, तेक्वान्दो, महिला फुटबल, राष्ट्रिय तेक्वान्दो, क्युकोसिन, आइटिएफ, राष्ट्रिय उसु, हक्की, महिला राष्ट्रिय भलिबल, रेस्लििङ र कबड्डी प्रतियोगिता हुनेछ । प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रश्तुतीका साथै लाइभ दोहोरी समेत हुने आयोजकले जानकारी दिएको छ ।






