हेटौंडा, रोटरी क्लब अफ हेटौंडाले हेटौंडा उप-महानगरपालिका वडा नं ६ रामनगरमा नवनिर्मित शिद्धस्थली रुरल कम्युनिटि हस्पिटललाई ल्याबका विभिन्न उपकरणहरु हस्तान्तरण गरेको छ।

रोटरी क्लब अफ हेटौंडाले रोटरी ईन्टरन्यासनल अन्तर्गतको ग्लोबल ग्रान्ट अन्तर्गत सतहत्तर लाख पचास हजार बराबरका पाँच थान उपकरणहरु सहयोग गरेको हो। यस कार्यमा रोटरी वर्ल्ड फण्ड, रोटरी क्लब अफ प्लाइम्प्टन तथा रोटरी डिष्ट्रिक्ट ११७५ का फाउण्डेसन चेयर रोटरियन सिमन वुडले रोटरी क्लब अफ हेटौंडालाई सहयोग गरेका छन्। हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण स्वचालित हेमाटोलोजी एनलाइजर, पूर्ण स्वचालित बायोकेमिस्ट्री एनलाइजर, अर्ध स्वचालित इलेक्ट्रोलाइट एनलाइजर, अर्ध स्वचालित यूरिन एनलाइजर र एचएलपिसि एनलाइजर मेशिनहरु रहेका छन्।
हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागत राज प्याकुरेलले रोटरी एक पूर्णतया सेवामुखी संस्था भएकोले शिद्धस्थली रुरल कम्युनिटि हस्पिटलले उक्त उपकरणहरुको माध्यमले बिपन्न बिरामीहरुको उत्कृष्ट उपचार गर्ने बिश्वासका साथ अस्पताललाई सहयोग गरिएको धारणा व्यक्त गरे । हेटौंडा उप-महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु दाहालले स्थानीय निकायले गर्नुपर्ने काम शिद्धस्थली रुरल कम्युनिटि हस्पिटल र रोटरी क्लब अफ हेटौंडालाई धन्यवाद दिंदै अस्पताल संचालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। यो सहयोगले स्थानीयहरुले आफ्नै घर आँगनमा उच्च स्तरीय स्वास्थ सेवा पाउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा न ६ का वडाध्यक्ष बिष्णु दाहाल, रोटरी क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष सुयस राज पराजुली, प्रस्तावित अध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष प्रमेश प्रधान, संस्थापक सदस्यहरु माधव अधिकारी, बिजय कुमार वैद्य, पूर्व अध्यक्षहरु ऋषिराम घिमिरे, लेखराज पोखरेल, राम प्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।






