हेटौंडा, नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा मनाईने यःमरि (मनपर्ने रोटी) पुन्हि पर्व हेटौंडामा भव्य रुपले मनाईएको छ । नेवार समुदायको दुई संस्थाले मंगलबार हेटौंडा बजारको बुद्धचोकमा निःशुल्क यःमरि र अचार वितरण गरी मनाएका हुन् ।
नेवाः देय् दबु र नेवाः साँस्कृतिक पुचः मकवानपुरले छुट्टा छुट्टै स्टल राखेर यःमरि र अचार पकाएर वितरण गरेको थियो । कार्यक्रम नेवारी महिलाहरुले मौलिक पोशाक हाकुपटासीमा सजिएर यःमरी बनाएका थिए ।

कार्यक्रमको हेटौंडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले उदघाटन गर्नु भएको थियो । नेवाः देय् दबुले आयोजना गरेको कार्यक्रम दबुका जिल्ला अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । दबुले ४० किलो मैदाबाट करिव एक हजार चार सय वटा यःमरि र गोलभेडाको अचार निःशुल्क वितरण गरेको जनाएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ९फोनिज०का केन्द्रीय प्रतिनिधी सुरेश श्रेष्ठ, नेवाः देय् दबुका जिल्ला सचिव देवकुमार श्रेष्ठ, जिल्ला सदस्य यज्ञबहादुर श्रेष्ठ, हेटौंडा उपमहानगर अध्यक्ष प्रतिमा श्रेष्ठ, नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे लगायतको उपस्थिती रहेको थियो ।
नेवाः देय् दबुले मकवानपुर जिल्ला कार्यसमिति र हेटौंडा नगर कार्यसमितीबाट मात्र आर्थिक सहयोग संकलन गरी संस्कृती जगेर्ना गर्न यःमरि पुन्हि मनाएको अध्यक्ष श्रेष्ठले बताउँनुभयो । कार्यक्रममा नेवाः अगुवाहरु शर्मिला श्रेष्ठ, सुना श्रेष्ठ, कान्छी श्रेष्ठ, शिव श्रेष्ठ, रमा श्रेष्ठ, राजु श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, विश्व श्रेष्ठ लगायतले यःमरि पुन्हि बनाउँन र वितरणमा भुमिका खेलेका थिए ।
नेवाः साँस्कृतिक पुचः मकवानपुरले आयोजना गरेको यःमरि पुन्हि कार्यक्रमको पनि हेटौंडा उपमहानगरपालिका मेयर लामाले उदघाटन गर्नु भएको थियो । कार्यक्रम नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको अध्यक्षतामा भएको थियो ।
करिब ५ सय जनालाई प्रति व्यक्ति २ वटा यमुरी र आलु चोखा वितरण गरिएको पुचःका जिल्ला महासचिव नारायण राजथलाले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शाखा अधिकृतहरु गंगाकुमारी चौलागाई, भैरव कुमाल लगायतको आतिथ्य रहेको थियो ।







