हेटौंडा, यही मङ्सिर १२ गतेबाट हेटौंडामा टि १० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
हेटौंडा-४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा बागमती र मधेस प्रदेशका १६ टिमले सहभागिता जनाउने छन् । खेलका सह-संयोजक प्रमोद मानन्धरका अनुसार प्रत्येक टिममा १५ जना खेलाडी रहनेछन् र खेलहरू नकआउट प्रणालीमा हुनेछन्।
मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ लाख रुपैयाँको लागतमा सञ्चालन हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर, म्यान अफ द म्याच र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशका अध्यक्ष समिम खानले दुई प्रदेशबीचको सम्बन्ध स्थापित गर्न र खेलकुदको विकासका लागि क्रिकेट प्रतियोगिता गर्न लागिएको बताए । पत्रकार सम्मेलन कार्यक्रममा मकवानपुर क्रिकेट संघका सचिव बिनोद बानियाँलगायत खेलाडिहरुको सहभागिता रहेको थियो ।







