हेटौंडा, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री पुष्पकमल दालहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । बिहीबार बजेट माथि छलफलका लागि बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थपलियाले रोष्टमबाट नै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।
बजेट माथिको छलपलका क्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सांसदहरुले राखेका प्रश्नको जवाफ दिए लगत्तै बसेको प्रदेशसभा अर्को बैठकमा समय माग गरेर बोल्दै नेता थपलियाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएकोले राजिनामा दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीकोे अभिव्यक्तिप्रति एमालेको घोर आपत्ती रहेको छ । जनताले छानेका प्रतिनिधिहरुले देशको प्रधानमन्त्री बनाउने हो, भारतले होइन । यो स्विकार्य छैन । यो जनताले छानेका प्रतिनिधि माथिको अपहेलना हो । प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ ।’ उनले भने । उनले प्रधानमन्त्री प्रचण्डको राजिनामा मागेसंगै एमालेका सांसदहरुले संसद बैठकमा नै नाराबाजी सुरु गरेका थिए ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर नेता थपलियाले राजीनामाको माग गरेका हुन् ।







