हेटौंडा, थाहा नगरपालिकामा रहेको शिखर बचत तथा ऋण सहकारीको शेयर पुँजी १ करोड ४२ लाख रुपैयाँ रहेको छ । शनिबार भएको सहकारीको १३ औँ वार्षिक साधारणसभाको प्रतिवेदनमा १ हजार ४ सय जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी १ करोड ४२ लाख रुपैयाँ रहेको उल्लेख छ । संस्थाका अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष मनोज रायमाझी तथा कोषाध्यक्ष निरज रायमाझीले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ । संस्थाको वार्षिक कारोबार ९ करोड २० लाख रुपैयाँ रहेको छ । कार्यक्रममा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कारबाट प्रह्लाद बिष्ट, जितेन्द्र कुमार, विनय प्रसाद जैसवाल, कपिल केसी, निकेश गोपाली, बिष्णु कार्की, रामकाजी कार्की र कमला रायमाझीलाई प्रदान गरेको थियो । सहकारीले उत्कृष्ट समुहकर्ता सम्मान मधुकर विक्रम श्रेष्ठ र सीता केसीलाई प्रदान गरिएको थियो भने संस्थाका व्यवस्थापक सुमन बिष्टलाई उत्कृष्ट कर्मचारीद्वारा सम्मान गरिएको थियो।
सहकारीले नगर भित्रका सामाजिक व्यक्तित्वहरुलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेहरुमा डाक्टरहरु गगन कार्की, पवन कार्की, सुजता केसी र रिकेश कार्की, उत्कृष्ट समाजसेवी यादव जंग रायमाझी, साहित्य क्षेत्रबाट बिर्खे अन्जान र पत्रकारीताको सम्मान शम्भु अधिकारीलाई प्रदान गरिएको थियो । त्यसैगरी पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र संस्था तर्फ च्वाइस नेपाल र मेन्टर इन्टरनेशनललाई सम्मान गरिएको थियो।

कार्यक्रममा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ कुलप्रसाद तिवारी, संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, फरक सोचका अध्यक्ष यादव रायमाझी, दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी, जिल्ला बचत तथा ऋण सहकारीका संचालक फणिन्द्र सुवेदी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी, पाथिभरा बचतका भुपेन्द्र हमाललगायतको आतिथ्यता रहेको थियो ।







