हेटौंडा, हेटौंडा राइडर्स क्लबको आयोजनामा यही असार ३० गते कोरा साइक्लिङ च्यालेञ्ज हुने भएको छ । राइडर्स क्लवले यस वर्ष पनि कोरा साइक्लिङ च्यालेञ्जलाई निरन्तरता दिन लागेको हो ।
३० गते शनिबार हेटौंडा–४ स्थित हुप्रचौरबाट सुरु हुने कोरा साइक्लिङ च्यालेञ्ज र्याली नगरको विभिन्न स्थानको परिक्रमा गर्दै हेटौंडाको बुद्धचोकमा आएर टुंगिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोजक क्लब अध्यक्ष विकास ताम्राकार अनुसार ५० किलोमिटरको यस यात्राको क्रममा विभिन्न टोलमा स्वागत कार्यक्रम हुनेछ ।
३ लाख ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको साइकल र्यालीमा करिब दुईसय जनाभन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । हेटौंडा उपमहानगरको विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पहिचानमा यस यात्राले सहयोग पुर्याउने अध्यक्ष ताम्राकारको दावी छ । ‘हामीले विगत ६ वर्षदेखि साइक्लिङ च्यालेञ्ज गर्दै आएका छौं’, उनले भने, ‘यस कार्यका लागि जाइन्ट साइसकल मुख्य प्रायोजक तथा निको अस्पताल प्रा.लि सहप्रायोजक रहेको छ ।’
यस कार्यका लागि हेटौंडा–२, ४ र १३ नम्बर वडा, जिल्ला साइकल संघ तथा व्यवसायीले समेत सहयोग गरेका छन् । नेपालभर प्रत्येक वर्ष जुलाइ १५ का दिन कोरा साइकल र्याली आयोजना गर्ने गरिएको छ ।






