हेटौंडा, स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० माघको दोस्रो साताबाट हुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना हुने प्रतियोगिता माघ १६ गतेबाट २७ गतेसम्म सञ्चालन हुने भएको हो । यसवर्ष प्रतियोगितामा आयोजकसहित आठवटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हेटौंडा ६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए । उनका अनुसार यस वर्षको गोल्डकपमा पारो एफसी भुटान, ए डिभिजन क्लवहरु चर्चब्वाइज युनाइटेड, संकटा क्लव, हिमालयन शेर्पा क्लव, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लव, मच्छिन्द्र क्लव, मनाङ मस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, बागमती युवा क्लव सर्लाही, राजारानी क्लव धनकुटा र एन्फा मकवानपुरको सहभागिता रहने छ ।
मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि बुलेट मोटरसाइकल प्राप्त गर्ने भएका छन् । आयोजक फुटबल संघले यसअघि पनि प्रत्येक वर्ष सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गर्दै आएको थियो । यसअघि हेटौंडा स्कूल अफ म्यानेजमेण्टले बुलेट मोटरसाइकल प्रायोजन गर्दै आएकोमा यस वर्ष भने पर्शुराम स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् गजुरमुखी निर्माण सेवाका सञ्चालक सन्तोष गौतमले बुलेट उपलब्ध गराएका हुन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । यस वर्ष मकवानपुरको डाँफे युवा क्लवले प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी लिएको छ । पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।






