हेटौंडाको मन्दिर र गुम्बामा पूर्व राजाको पूजापाठ

हेटौंडा, पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार हेटौंडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पुगेर दर्शन तथा पूजापाठ गरेका छन् । हेटौंडा आइपुगेका उनी तीन स्थानको धार्मिक क्षेत्रमा पुगेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ता तथा सर्वसाधारणको तामझाम स्वागतकाबीच उनले हेटौंडाको विभिन्न धार्मिक क्षेत्रमा पुगेर पूजापाठ गरेका छन् ।

ADVERTISEMENT

विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पूर्व राजा शाह हेटौंडा आइपुगेका हुन् । उनको स्वागतमा राप्रपाका नेता कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरुले ठाउँठाउँमा स्वागत गेट बनाएर घडा थापेका थिए । बारा हुँदै हेटौंडा आएका शाहले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका थिए । शुभेच्छुक तथा समर्थकको स्कटिङका बीच हेटौंडा बजार प्रवेश गरेका उनले हेटौंडा १३ नम्बर वडामा रहेको गुम्बामा केहीबेर पूजाआजा गरेका थिए । पदमपोखरीबाट फर्किएर उनी हेटौंडा १० मा रहेको भूूटनदेवी मन्दिरको दर्शनका लागि पुगेका थिए ।

मन्दिर र गुम्बाको दर्शन पछि उनले दिउँसो हेटौंडाको ५ नम्बर वडामा रहेको हेटौंडा रिसोर्टमा राप्रपाका विशिष्ट नेता र उनको स्वागत सत्कारका लागि खटिएकाहरुसँग भेटघाट कार्यक्रम गरेका छन् । राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको नेतृत्वमा गठित समितिले शाहको स्वागत सम्मान गरेको थियो । शाहको स्वागतका लागि राप्रपाका नेता एवम् प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही लगायतका नेताहरु समेत हेटौंडा आएका थिए । पूर्व राजाको स्वागतका लागि राप्रपाका सांसद सिंहको संयोजकत्वमा एकहजार ११ सदस्यीय समिति गठन भएको थियो । शाहको स्वागतका लागि तराईका विभिन्न जिल्लादेखि कार्यकर्ता एवम् सर्वसाधारण हेटौंडा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *