हेटौंडा, प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हेटौंडामा जारी रहेको छ । आज भएको खेलमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, वडा नम्वर ६ र वडा नम्वर १७ विजयी भएको छ । आज भएको पहिलो खेलमा हेटौंडा-१२ विजयी भएको छ । हेटौंडा-१३ लाई ३–१ को सेटमा पराजित गर्दै हेटौंडा–१२ विजयी भएको हो ।
पहिलो सेट २५–२० ले गुमाएको १२ नम्वर वडाले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्यो । हेटौंडा–१२ ले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१२ ले ले आफ्नो पक्षमा पार्यो । हेटौंडा–१२ का उत्सब आले मगर खेलको म्यान अफ द म्याच घोषित भए । यसैगरी आज भएको दोस्रो खेलमा हेटौंडा–१५ लाई २५–२३, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गर्दै हेटौंडा–६ विजयी भएको छ ।
हेटौंडा ६ का विवेक माझी खेलको म्यान अफ द म्याच घोषित भए । यसैगरी आज भएको तेस्रो खेलमा हेटौंडा १७ विजयी भएको छ । हेटौंडा–१९ लाई २५–२२,२५–१७ र २५–१८ को सोझो सेटले पराजित गर्दै हेटौंडा १७ विजयी भएको हो । हेटौंडा–१७ का विशेष थापा मगर खेलको म्यान अफ द म्याच घोषित भए । माघ १८ गते ४ वटा खेल सञ्चालन हुने कार्यक्रम संयोजक मनोज लामा स्याङतानले जानकारी दिए ।
माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।






