हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शुक्रबार हेटौंडामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको थियो । हेटौंडा–४ नम्वर वडामा रहेका सामूदायिक तथा संस्थागत विद्यालयले सामाजिक विषय, विज्ञान विषय र गणित विषयमा शैक्षिक प्रदर्शनी गर्नुका साथै गायन तथा नृत्य प्रतियोगिता पनि सहभागिता जनाएका थिए ।

सामाजिक विषय प्रदर्शनीमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, ब्रम्हादिक एकेडेमी द्वितीय र श्रमिक माध्यमिक विद्यालय तृतीय हुन सफल भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रदर्शनीमा उत्कृष्ट घोषित भएका शिक्षकलाई पनि पुरस्कार प्रदान गरिएको थियो । यसैगरी विज्ञान विषय प्रदर्शनीमा भुटनदेवी माध्यमिक विद्यालय प्रथम, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय द्वितीय र सत्यम जेभियर्स माध्यमिक विद्यालय तृतीय हुन सफल भयो ।
यसैगरी गणित विषय प्रदर्शनीमा भुटनदेवी माध्यमिक विद्यालय प्रथम, श्रमिक माध्यमिक विद्यालय द्वितीय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तृतीय हुन सफल भयो । नृत्य प्रतियोगितामा ब्रम्हदिक एकेडेमी विद्यालय प्रथम, श्रमिक माध्यमिक विद्यालय द्वितीय र भुटनदेवी माध्यमिक विद्यालय तृतीय हुन सफल भयो । नृत्य प्रतियोगितामा ८ वटा विद्यालयले सहभागिता जनाएतापनि आयोजकको नियमअनुसार ७ वटा विद्यालयलाई मापन गरी प्रथम, द्वितीय र तृतीय छनौट गरेको कार्यक्रममा निर्णायकले बताएका थिए ।
गायनतर्फ श्रमिक माध्यमिक विद्यालय प्रथम, ब्रम्हदिक एकेडेमी विद्यालय द्वितीय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएको थियो । हेटौडा ४ का वडा अध्यक्ष नविन सिग्देलले वडा भरीका संस्थागत तथा सामुदायिक गरी ८ वटा विद्यालयहरुको सहभागीतामा शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमले वडाभित्रका विद्यालयहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने उदेश्य राखेको शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताए । यस्तै मौलिक नेपाली गित तथा विभिन्न जातजाती नाँच र भेषभुषा झल्काउने गरी सामूहिक नृत्य र एकल गायन प्रतियोगिताको आयोजना गरेको उनले बताए ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।






