हेटौंडा, मकवानपुर जिल्ला साइक्लिङ्ग संघको अध्यक्षमा पुनः चयन भएका संगित श्रेष्ठले खेलाडी उत्पादनमा जोड दिने बताएका छन् ।

‘पहिलो कार्यकालमा पर्यटनसम्बन्धी र स्वास्थ्य सम्बन्धी कार्य गरे ।’ सत्मार्ग अनलाइनसँग कुराकानी गर्दै श्रेष्ठले भने –‘दोस्रो कार्यकालमा मेरो पहिलो प्राथमिकता भनेकै खेलाडी उत्पादन रहन्छ । हेटौंडा उपमहानगरपालिकाको वार्षिक रुपमा बजेटमा १ लाख २० हजार रुपैयाँको पुरस्कार राशिबाट पनि खेलाडी उत्पादन हुन्छ । उक्त कार्यक्रममा संघले व्यवस्थापनको पाटोमा कार्यहरु गरिरहेको छ ।’
‘अबको लक्ष्य भनेको विद्यालयका विद्यार्थीहरुसँग अपेक्षा छ । विद्यालयका १२ वर्ष उमेर समूहका विद्यार्थीलाई टार्गेट गरेर २२ वर्ष उमेर पुग्दा त्यो खेलाडी ओल्पिक स्तरमा खेल्न सकोस् भन्ने सोचका साथ संघ अगाडि बढिरहेको छ ।’ उनले भने । शनिबार भएको संघको दोस्रो साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन भएको हो । संघको उपाध्यक्षमा राजिव खड्गी, सचिवमा राजु पौडेल, कोषाध्यक्षमा रुपकराज मानन्धर चयन भएका छन् । यसैगरी सदस्यमा नन्दकुमार मानन्धर, विकास ताम्राकार र राजकुमार मिश्र रहेका छन् ।
संघको पहिलो बैठकबाट दुई जना सदस्य पदमा मनोनित गर्ने अध्यक्ष श्रेष्ठले बताए । जीवन तिमल्सिनाको संयोजकमा रही सदस्य सुर्य थापा र रमेश बहादुर थापाको निर्वाचन मण्डलले नयाँ समिति चयनको लागि सहजीकरण गरेको संघले जनाएको छ। मकवानपुर जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष संगित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
संघमा ४६ जना सदस्य आबद्ध भएता पनि शनिबार भएको साधारणसभामा ३९ जना सदस्यको उपस्थिती रहेको थियो ।






