हेटौँडा, बागमती प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुखबाट प्रदेश सभाको अठारौँ अधिवेशन आह्वान गरिएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेका अनुसार अधिवेशनको पहिलो बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्नेछ । मन्त्रिपरिषद्ले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखद्वारा जारी सूचनाअनुसार अधिवेशन हेटौँडा उपमहानगरपालिका परिसरस्थित प्रदेश सभा भवनमा सञ्चालन हुनेछ ।
आगामी अधिवेशनमा आर्थिक वर्ष २०८३र०८४ का लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिनेछ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णयसमेत गरेको छ । मन्त्रालयहरूको संख्या तथा कार्यक्षेत्रमा गरिएको पुनर्संरचनापछि जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले नियमावली परिमार्जन गरिएको प्रदेश सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।







