हेटौंडा, नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । केन्द्रीय समितिको निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको हो । यसको औपचारिक शुभारम्भ भने यही १६ गते सहीद दिवसको दिनबाट हुने बताइएको छ ।
कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार योे अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ । अभियानको अवधिमा समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको सभापति लामाले बताए ।
अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा राजन केसी मकवानपुर आइसकेका छन् ।
जिल्लाको १०२ वटै वडामा पुग्नका लागि प्रतिनिधि तोकिएको छ । आइतबार कांग्रेस मकवानपुरको विस्तारित बैठकले पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्ति तथा समग्र कार्यकर्ताहरुलाई अभियानमा सक्रिय सहभागी हुन आग्रह गरेको छ । पार्टीका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी एवम् सदस्य, विभिन्न भ्रातृ संगठन तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरी यो कार्यक्रम देशैभरी भइरहेको उनले बताए ।
अभियानका क्रममा खटाइएका प्रतिनिधि जिल्ला तथा वडा स्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने बताइएको छ । अभियानका क्रममा वडावासीसँग खुला छलफल गरी तीनवटै तहका सरकारसंगका जनताको अपेक्षा, गुनासा र सुझाव सुन्ने पार्टीका बारेमा जनताका सुझाव लिइनेछ । अभियान कांग्रेका स्वर्गीय नेता सुशिल कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते समापन गरिने कार्यतालिका रहेको छ ।






