हेटौंडा, रेडियो मकवानपुरले स्थापनाकाल देखि नै प्रदान गर्दै आएको सामुदायिक सम्मानबाट यस वर्ष मकवानपुर रिकभरिङ समूहका सन्चालक संदिप शाक्य र हेटौंडा १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराई सम्मानित भएका छन् । उनीहरु दुवैलाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।

हेटौंडा १० का शाक्य एक दशक भन्दा लामो समय लागूऔषध प्रयोगलाई छोडेर रिकभरिङ समूह सन्चालन गर्दै आएका युवा हुन् भने भट्टराई ४ दशक बढी समयदेखी सनातन धर्मको संरक्षण सँगै नेपाल र भारतको विभिन्न स्थानमा आफ्नै अगुवाई एवम् लगानीमा समेत मन्दिर र धर्मशाला निर्माण गर्दै आइरहेका छन् । यस्तै रेडियो मकवानपुरको उत्कृष्ट वर्ष कर्मचारीबाट पोष्टराज अधिकारी कुमार सम्मानित भएका छन् ।
समाचार शाखामा कार्यरत उनलाई नगद ७ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, रेडियो मकवानपुर अध्यक्ष आनन्दराम पराजुली लगायतले सम्मान गरेका हुन् ।







