हेटौंडा, हेटौंडा ५ मा रहेको हेटौंडा सिटी कलेजमा खाना प्रदर्शनी आइतबार भएको छ । बीसीए चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको खाना प्रदर्शनीमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले ४ वटा स्टल राखी प्रदर्शनी गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फोटन गर्ने, सहकार्यमा काम गर्न, प्रयोगात्मक सिपलाई व्यवहारमा उतार्न र नयाँ वर्ष २०२४ लाई लक्षित गरी शुभकामना आदान प्रदान गर्ने उद्देश्यले खाना प्रदर्शनी, सांङ्गीतिक कार्यक्रम आयोजना गरेको क्याम्पसका प्रिन्सिपल श्रीबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा विद्यार्थीले खेल प्रदर्शनी पनि राखेका थिए ।
हेटौंडा सिटी कलेज विभिन्न संकायमा ६ सय जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । विद्यार्थीहरु स्वयम्ले खर्च गरी क्याम्पसको परिसरमा विभिन्न परिकारहरु विद्यार्थीले बनाएका थिए । प्रदर्शनीमा संकलित रकमबाट कोष स्थापना गरी भविष्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नमा टेवा पुग्ने विद्यार्थीको भनाइ रहेको छ । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन पनि प्रस्तुत गरेका थिए ।







