हेटौंडा, प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले हराउँदै हेटौंडा विजयी भएको हो । प्रतियोगितामा महाँकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भयो । उपाधि विजेताले तीन लाख, उपविजेताले दुई लाख तथा तेस्रो हुनेले एक रुपियाँ पुरस्कार पायो ।
सेमिफाइनलमा थाहा नगरपालिकाले महांकाल गाउँपालिकालाई र हेटौंडा उपमहानगरपालिकाले ह्याङले गाउँपालिकालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै सुजन चोखाल उत्कृष्ट सेटर, राजन दर्लामीमगर उत्कृष्ट लिबरो घोषित भए ।
महांकाल गाउँपालिकाका जिबन सुनार उत्कृष्ट ब्लकर भए। हेटौँडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानले प्रतियोगिता सञ्चालन गरेको हो ।






