हेटौँडा, हेटौँडा उपमहानगरपालिका–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरेको छ। विद्यालयले शनिबार एक समारोह आयोजना गरी ५२ जना विद्यार्थी, विद्यार्थीका अभिभावक तथा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्याएका ८ जना शिक्षकलाई नगद, मायाको चिनो र प्रमाणपत्रसहित सम्मानित गरेको हो।

सम्मानित शिक्षकहरूमा अंग्रेजी विषयकी पुष्पा भट्टराई, गणितका देवेन्द्र चापागाई, विज्ञानका पवन त्रिपाठी, प्रतिभा बुढाथोकी र महेश खरला, कम्प्युटर विषयका सुरेन्द्र गौतम, नेपालीका कमल नेपाल तथा सामाजिक शिक्षाका सन्दिप न्यौपाने रहेका छन्।
कार्यक्रम विद्यालयका प्रिन्सिपल रघुनाथ खरालको अध्यक्षतामा भएको कार्यक्रममा एस एजुकेशनका अध्यक्ष तथा मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका शर्माले शिक्षालय, विद्यार्थी र अभिभावक त्रिवेणीको संगम नै शैक्षिक सफलताको आधार भएको उल्लेख गर्दै वैज्ञानिक युगमा शिक्षकको भूमिकाको मूल्य समयक्रमसँगै अझ बढ्दै जाने धारणा राखे।
प्रिन्सिपल खरालले यसअघि उत्कृष्ट विद्यार्थीलाई कविलास रिसोर्टमा सम्मान गरिसकेको जानकारी दिँदै भने, “विद्यार्थी मात्र होइन, उनीहरूको सफलता पछाडिको आधार अभिभावक र शिक्षक पनि सम्मानयोग्य छन् भन्ने सोचले आज यो कार्यक्रम गरिएको हो।” साथै, विद्यालयबाट एसईई उत्तीर्ण गरी नारायणी कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क र मासिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
कार्यक्रममा अभिभावक प्रतिनिधिका रूपमा सुदिना स्याङ्बो र सुभद्रा सापकोटाले मन्तव्य व्यक्त गरे। यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य डा. गोपी बन्जरा र अचला शर्माले विद्यालयको पहलको प्रशंसा गरे। शिक्षक प्रतिनिधिका रूपमा माध्यमिक संयोजक देवेन्द्र चापागाईले भावनात्मक मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल कमल नेपालले स्वागत मन्तव्य राखेका थिए।






