वाग्मतीको ‘मुख्यमन्त्री सभाहल’ अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको तयारी

हेटौंडा, हेटौंडा-२ स्थित हेटौंडा उपमहानगरपालिकाको प्रशासनिक भवन पछाडिको जग्गामा जग हालेर छोडिएको ‘मुख्यमन्त्री सभाहल’ अलपत्र छ। २०७७ कात्तिकबाट निर्माण सुरु भएको सभाहलको जग मात्रै निर्माण गरेर छोडिएको हो।

ADVERTISEMENT

सभाहल निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गरिने सहरी विकास तथा भवन कार्यालय जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल निर्माण गर्न संरक्षण निर्माण सेवारसेव इन्जिनियरिङ कन्स्ट्रक्सन जेभी भरतपुर(११ चितवनले सहरी विकास तथा भवन कार्यालय मकवानपुरसँग सम्झौता गरेको थियो।

३ वर्षसम्म पनि सभाहल निर्माण हुन नसकेपछि कार्यालयले निर्माण कम्पनीलाई कारबाहीको तयारी गरेको हो।

२०७७ कात्तिक १७ गते प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सभाहलको शिलान्यास गरेका थिए। निवर्तमान मेयर हरिबोल महतको मेयरस्तरीय निर्णयबाट उपमहानगर परिसरको जग्गा उपलब्ध गराउने पत्रपछि ठेक्का लगाएर काम सुरु गरिएको थियो।

तर निर्माण कम्पनी संरक्षण निर्माण सेवारसेव इन्जिनियरिङ कन्स्ट्रक्सन जेभीले २५ प्रतिशत मात्रै काम गरेर हिँडेको छ। २०७९ बैशाख १९ गतेभित्र निर्माण सम्पन्‍न गर्नुपर्ने सम्झौता थियो।

निर्माणका लागि तयार पारिएको प्लिन्थ लेभलको ढलान गर्न बिछ्याइएको रडहरु खिया लागिसकेको छ भने निर्माण सामग्रीहरु असरल्ल अवस्थामा रहेका छन्।

भवन कार्यालयले कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा ४ सय जना क्षमताको सभाहल निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। सहरी विकास कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले सभाहल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाहीको तयारी भएको जानकारी दिए।

उनले सम्झौता मिति गुज्रिसकेकाले संरक्षण निर्माण सेवारसेव इन्जिनियरिङ कन्स्ट्रक्सन जेभीलाई कालो सूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने तयारीमा कार्यालय रहेको बताए।

संरक्षण निर्माण सेवारसेव इन्जिनियरिङ कन्स्ट्रक्सन जेभीले सभाहल निर्माण सुरु लगत्तै ठेक्का रकमको १० प्रतिशत अर्थात ७५ लाख रुपैयाँ पेश्कीसमेत लगेको थियो। ठेक्का रकमको २० प्रतिशतसम्म पेश्की दिन सकिने भएपछि जेभीले १० प्रतिशत पेश्की लगेर पनि काम भने ४७ लाख ५४ हजार ८ सय ४१ रुपैयाँको मात्रै गरेको हो।

निर्माण कम्पनीले उक्त रकम भुक्तानी पाइसकेको छ भने पेश्की रकम गत आर्थिक वर्ष २०७९र८० को असार मसान्तमा ल्याएर बुझाएको सूचना अधिकारी काफ्लेले जानकारी दिए।

‘पेश्की रकम भर्खरै फिर्ता गरेको छ। अब कारबाही गर्छौँ,’ उनले भने।

जेभीसँग पेश्की रकम फिर्ता ल्याउन पनि भवन कार्यालयलाई महाभारत परेको थियो। बैंक ग्यारेन्टी रहेको कृषि विकास बैंकले समेत पेश्की रकम फिर्ता ल्याउन नसकेपछि कार्यालयले राष्ट्रिय बैंक गुहारेपछि ठेकेदारले पेश्की रकम जम्मा गरेका थिए।

हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले सभाहल अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

सभाहल हेटौंडा उपमहानगरले पनि प्रयोग गर्ने गरी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराएको थियो। यद्यपि, जग्गा भने प्रदेश सरकारको नाममा गइनसकेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

उपमहानगरले यो जग्गामा अब सभाहल बनाउन नदिने भएको छ। न्यौपानेका अनुसार उपमहानगर कार्यालयभित्रै पार्किङको समस्या रहेको र आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने देखिएकोले यो जग्गा सभाहल निर्माणको लागि दिन नसकिने स्पष्ट पारे। जसकारण सभाहल अब त्यहाँ निर्माण हुन नसक्ने देखिएको छ।

वाग्मती प्रदेश सरकारको आफ्नै सभाहल छैन। आफ्नो सभाहल निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीले मनोमानी गर्दा समेत प्रदेश सरकार मौन छ। बिजमाण्डू अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya