क्रिकेट प्रतियोगिताको उपाधी आधुनिकलाई

हेटौंडा, मकवानपुर क्रिकेट संघको आयोजनामा भएको स्वर्गीय निरज श्रेष्ठ स्मृति अन्तर विद्यालय टि २० क्रिकेट प्रतियोगिताको उपाधी आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । सोमबार भएको फाइनल खेलमा भुटनदेवी माध्यमिक विद्यालयलाई ६७ रनले पराजित गर्दै आधुनिकले दोस्रो संस्करणको उपाधी चुमेको हो ।

ADVERTISEMENT

भुटनदेवी पहिलो संस्करणको विजेता हो । टस जितेर ब्याटिङ रोजेको आधुनिकले २० ओभरमा ९ विकेटको नोक्सानीमा १३७ रन बनायो । आधुनिकका रोहित ठाकुरले ३९ रन, रबि यादवले २५ रन जोडेका थिए । भुटनदेवीका लागि सजिल अलि खानले ४ विकेट, नरेन्द्र अधिकारी, रितिक यादव, नसिम शेख र ओमप्रकाश रामले समान १ विकेट लिए ।

जवाफी ब्याटिङको लागि मैदान उत्रेको भुटनदेवी १४ दशमलव ४ ओभरमा अलआउट हुँदै ७० रनमै सिमित बन्यो । भुटनदेवीका नसिम शेखले १७ रन बाहेक अरु खेलाडीले रन बटुल्न सकेनन् । भुटनदेवीलाई सस्तैमा समेट्नको लागि राहुल यादवले ४, रवि यादवले २, रोहित ठाकुर र प्रिन्स यादवले समान १ विकेट लिए ।

प्रतियोगितामा आधुनिकका राहुल यादव म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आधुनिकका प्रिन्स यादव बेष्ट ब्याट्सम्यान, सिद्धार्थ शिशु सदन विद्यालयका महेश स्याङवो बेष्ट बलर र भुटनदेवी विद्यालयका नरेन्द्र अधिकारी म्यान अफ द सिरिज घोषित भए । प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः नगद ४० हजार र २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालय नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सिग्देलले प्रतियोगिताले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, निवर्तमान अध्यक्ष बासुलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गी, नेपाल क्रिकेट संघ बागमती प्रदेशका उपाध्यक्ष प्रेम क्षेत्री, प्रतियोगिता संयोजक संजोग पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *