हेटौंडा , ३१ बैशाख/नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ ।
कांग्रेस मनहरी गाउँपालिकाको वडा १ को चकरी भोल्टाडी, ३ नम्बरको सिद्धकाली र हेटौंडा उपमहानगरपालिका १९ को सान्नानीटारमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अगुवा कार्यकर्ता भेला तथा स्थानीय समस्याको बारेमा छलफल गरिएको हो ।
भेलामा नेता बानियाँले पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, स्थानीयस्तरमा रहेका विद्यमान समस्या, नगर तथा गाउँपालिकाले बनाउने बजेट, पार्टीको अहिलेको अवस्था बारेमा अगुवा कार्यकर्ता, जनप्रतिनिधि र वडा सभापतिहरुसंग छलफल गर्नुभएको थियोे ।
प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले जनप्रतिनिधि, पालिका र वडा सभापतिहरुले स्थानीय जनताको आवश्यकता र औचित्यको आधारमा व्यापक छलफल गरेर शिक्षा, स्वास्थ्य र विकाश निर्माणलाई प्रमुखताका साथ ध्यान दिएर बजेट निर्माण गर्न निर्देशन दिनुभयो ।
नेता बानियाँले विकासका कार्यमा स्थानीय समस्या समाधानको लागि स्थानीय सरकारले गर्न नसकेका कार्यमा पालिका प्रमुखहरुसंग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै अगुवा कार्यकर्ता र जनप्रतिनिधिले उठाएका समस्या, जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे प्रकाश पार्नुभएको थियोे ।
विभिन्न कार्यक्रमहरुमा कांग्रेस मकवानपुर प्रतिनिधि सभा २ ख का क्षेत्रीय सभापति रञ्जन कालाखेती, महासमिति सदस्यद्वय राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, मनहरी १ का सभापति
मनोहरी उप्रेती, ३ का सभापति रमेश पुरी, हेटौंडा १९ का सभापति विष्णुलाल स्याङतान, स्थानीय नेताहरु सानुकाजी लुईटेल, शिवप्रसाद खनाल, अनन्त अर्याललगायतले धारणा राखेका थिए ।