हेटौंडा, नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले आगामी यही फागुन १५ गते संघको ४२ औँ संघको स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम गरिनुका साथै फुड फेस्टिवल कार्यक्रम गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिँदै संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले १५ गते हेटौंडाको हुप्रचौर राष्ट्रिय कलाकार सहित स्थानीय कलाकारको प्रस्तुती रहने बताए । कार्यक्रममा अमृता लुङ्गेलीमगर, हेमन्त आलेमगर, कमेडियन दिनेश काफ्ले, शशि पुनमगरको प्रस्तुती रहनुका साथै मकवानपुरका कलाकारहरुको पनि प्रस्तुती रहने उनले बताए ।
कार्यक्रममा मगर जातिको कौरा र हुर्रा नाँच प्रदर्शनी रहने जनाइएको छ । उक्त कार्यक्रममा करिब ४ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
मकवानपुरमा ७० प्रतिशत जनजाति समूदाय रहेकोमा मगर जाति ३.८ प्रतिशत रहेको छ । मकवानपुरमा बागमती र भीमफेदी गाउँपालिकामा बढी संख्यामा मगर समूदायको बसोबास रहेको छ । जिल्लामा करिब तीस हजार मगरको संख्या रहेको अध्यक्ष सन्देश तुम्सिङमगरले बताए ।
पत्रकार सम्मेलनमा नेपाल मगर संघका बागमती प्रदेश उपाध्यक्ष खेमराज जग्रामगर, प्रदेश प्रशासन सचिवालय सदस्य रामकुमार थापामगर, जिल्ला उपाध्यक्ष उर्मिला मगर, संघका सल्लाहकार कृष्ण सारुमगर लगायतको आतिथ्यता रहेकोथियो ।







