हेटौंडा,आज विहीबारबाट हेटौडामा सूचना प्रविधि मेला सुरु हुँदैछ । कम्प्युटर एसोसियसन नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडामा हुने सूचना प्रविधि मेलाको उद्घाटनमा रोवटको प्रयोग गरिने र बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए ।
मेलाका लागि क्यान बागमती प्रदेशका अध्यक्ष पुष्पराज पुडासैनी संयोजक रहेका छन् । उनका अनुसार मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, विविध सÇटवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइन, वीमा लगायतका प्रर्दशनी र विक्री कक्ष रहने छ । मेलामा सूचना प्रविधि सम्बन्धी ४० वटा स्टल रहने छ । मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्किङ र सिसी टिभी सम्बन्धि तालिम, शिक्षक, विद्यार्थी तथा युवा लक्षित साइबर सुरक्षा जस्ता ३ वटा आइसिटी सेमिनार समेत सञ्चालन गरिने संयोजक पुडासैनीले बताए ।
साथै मेलाको आकर्षणको रुपमा राष्ट्रिय रोवट प्रदर्शनी र राष्ट्रिय पब्जी प्रतिस्पर्धा समेत हुनेछ । रोबोर्ट प्रदर्शनीमा १० वटा टिम र अनलाइन पब्जी खेलमा ३२ वटा टिमले सहभागिता जनाउने भएका छन् । ४० देखि ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको मेलामा प्रवेशका लागी सर्वसाधरणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेको सूचना प्रविधि मेलामा करिव ३० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।






