हेटौंडा, थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा आजबाट थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ। आज भएको उद्घाटन खेलमा वडा नम्वर ३ विजयी भएको छ ।

वडा नम्वर ६ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै वडा नम्वर ३ विजयी भएको हो । आज भएको दोस्रो खेलमा वडा न १ ले वडा न २ लाई २–० गोलले पराजित गर्न सफल भयो । आज भएको तेस्रो खेलमा वडा नम्वर १२ बिजय भएको छ । ट्राइबेकरमा वडा नम्वर ९ लाई ५–४ को गोल अन्तरले पराजित गर्दै वडा नम्वर १२ विजयी भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी हुन् ।
थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने, थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, वडा न ९ का अध्यक्ष राजकुमार बलामी, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, खेलकुद विकास समिती सदस्य यादव रायमाझी,खेलकुद विकास सदस्य सचिब अनिल लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिए । माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्रमश स् नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई आयोजकले पुरस्कारको व्यवस्था मिलाइएको छ ।






