पठन संस्कृतिबारे हेटौंडामा बहस कार्यक्रम

हेटौंडा, विद्यालयमा पठन संस्कृतिको विकास गराउने उद्देश्यले हेटौंडामा बहस कार्यक्रम भएको छ । शनिबार किताबघर हेटौंडाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यालयमा पठन संस्कृतिः के, किन र कसरी ? भन्ने विषयमा बहस भएको थियो । न्यू मिलेनियम विद्यालयका कार्यक्रम संयोजक कविता अर्याल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी र आख्यानकार नयनराज पाण्डे वक्ताका रुपमा रहेका थिए भने किताब घरका सञ्चालक छवि अनित्यले कार्यक्रम सहजीकरण गरेका थिए ।

ADVERTISEMENT

बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रिन्सिपल तथा प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विद्यालयले परियोजना कार्यलाई जोड दिँदै आइरहेको बताए । ‘अभिभावकको धारणा मूल्याङ्कन प्रणालीमा आधारित पाठ्यवस्तु मात्र पढ्नुपर्छ भन्ने मान्यता रहेको छ ।’ उनले भने –‘अभिभावकलाई बुझाएर बाह्य पाठ्य पुस्तकप्रति रुची बढाउनु पर्छ ।’ ‘कतिपय विद्यालयमा लाइबेरी छ तर पुस्तकहरू छैन । लाइबेरी सञ्चालन भएता पनि पाठ्यवस्तुमा आधारित पुस्तकहरू मात्र भेटेका छौँ ।’–उनले भने ।

न्यू मिलेनियम विद्यालयका कार्यक्रम संयोजक कविता अर्यालले पठन संस्कृतिले मानिसको चेतना स्तरमा परिवर्तनसँगै विश्वलाई नै पुस्तकबाट नियाल्न सकिने बताइन् । ‘पठन संस्कृतिको विकासले विश्व मानवहरूसँग जोडिने माध्यमको रूपमा समेत काम गर्छ ।’ उनले भनिन्, ‘विश्व घटना र परिवेशसँगै आÇनो समाज र देशको इतिहासदेखि भविष्यसम्मको जानकारी लिनसमेत मद्दत गर्छ ।’

ADVERTISEMENT

आख्यानकार नयनराज पाण्डेले विद्यालयहरूले बालबालिकालाई लक्षित गरी बालसाहित्य कार्यशाला सञ्चालन गर्नुपर्ने बताए । ‘पठन संस्कृतिको लागि विभिन्न पुस्तकहरु बजारमा रहेका छन् ।’ उनले भने –‘बालबालिकालाई लक्षित गरी कमै मात्रामा बाह्य पुस्तकहरू भेटिन्छन् ।’ बालबालिका सम्बन्धि पुस्तक प्रकाशनमा निकै चुनौती भएता पनि अतित र वर्तमान बालबालिकाको अवस्थालाई मध्यनजर गरी बालबालिका सम्बन्धी पुस्तक प्रकाशन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नवोदय शिशु सदन विद्यालयका सिएम रिमाल र बालजागृति युवा वर्ष माध्यमिक विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले पठन संस्कृतिको लागि विद्यालयमा भएका गतिविधिको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा उमा मैनाली र समर्पण न्यौपानेलाई उत्कृष्ट पाठकको रुपमा सम्मान गरेको थियो । कार्यक्रममा ज्ञानदीप शिक्षा निकेतन विद्यालयका आकांक्षा निरौला, नवोदय शिशु सदन विद्यालयकी ग्रीष्मा खतिवडा र हेटौंडा मोर्डन विद्यालयकी सुमिशा श्रेष्ठले वाचन गरेका कविता उत्कृष्ट घोषित भएका थिए । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको थियो । साहित्यकार निमेष निखिल, हरि पौडेल र केशव सुवेदीले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका । हेटौंडा उपमहानगरपालिका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त कविता मध्ये उत्कृष्ट १० मा पर्न सफल भएका विद्यार्थीहरूले कार्यक्रममा कविता वाचन गरेका थिए । किताबघर सदस्य निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *