हेटौँडा, विश्व लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेशदेखि कोशी प्रदेशसम्म सञ्चालन गरिएको लागूऔषधविरुद्धको सचेतना यात्रामा १२० जना राइडर सहभागी भएका छन्। काठमाडौँ, चितवन, पोखरा, बारा, सिमरा लगायत विभिन्न स्थानबाट सहभागी भएका राइडरहरूलाई बिहीबार हेटौँडामा स्वागत तथा सम्मान गरिएको छ।

‘लागूऔषधलाई होइन भनौँ, जीवन रोजौँ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको चौथो जनचेतनामूलक मोटरसाइकल यात्राले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्य लिएको मकवानपुर रिकभरिङ समूहका प्रबन्ध निर्देशक सन्दीप शाक्यले जानकारी दिए। मकवानपुर रिकभरिङ समूहका अध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सहभागी राइडरहरूलाई सम्मान गर्दै वक्ताहरूले लागूऔषधविरुद्धको अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्न यस्ता अभियानको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
कार्यक्रममा हेटौँडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुली, हेटौँडा उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइराला, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मकवानपुर रिकभरिङ समूहकी वरिष्ठ सल्लाहकार शर्मिला श्रेष्ठ, ब्लु डायमण्ड सोसाइटीका प्रतिनिधि किरण थापा लगायतले राइडरहरूलाई स्वागत तथा सम्मान गर्दै सफल यात्राको शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित सचेतनामूलक कार्यक्रममा रिकभरिङ नेपालका केन्द्रीय सचिव रविकृष्ण श्रेष्ठ, विद्यार्थी, शिक्षक तथा युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागूऔषधको दुष्प्रभाव, रोकथाम तथा पुनःस्थापनाको महत्वबारे चर्चा गर्दै समाजका सबै पक्षको साझा प्रयासबाट मात्र लागूऔषधमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरिएको थियो।
यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा गाउँपालिकामा पनि राइडर्स टोलीलाई स्वागत तथा सम्मान गरिएको थियो। स्थानीय सरकार, सामाजिक संघसंस्था र समुदायको सहभागितामा सम्पन्न कार्यक्रमको सहजीकरण मकवानपुर रिकभरिङ समूहका सञ्चालक सन्दीप शाक्यले गर्नुभएको थियो। प्रबन्ध निर्देशक शाक्यका अनुसार सचेतना यात्राअन्तर्गत बागमती प्रदेशदेखि कोशी प्रदेशको विराटनगरसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। यात्राको समापनपछि विराटनगरस्थित एक बालआश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
कार्यक्रममा वक्ताहरूले लागूऔषधविरुद्धको अभियान सरकारी निकायको मात्र नभई परिवार, विद्यालय, समुदाय, सामाजिक संस्था तथा सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै युवाहरूलाई शिक्षा, खेलकुद, सीप विकास र सामाजिक सेवामा जोड्न सके मात्र स्वस्थ र लागूऔषधमुक्त समाज निर्माण सम्भव हुने बताएका थिए।






