चैत्र २४ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको सहयोग एवम् नगर खेलकुद विकास समिति हेटौंडाकोे आयोजनामा चैत्र २४ गतेबाट हेटौंडा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा नगरको १९ वटै वडाको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै तेस्रो हुने टोलीलाई समेत ५० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले अब सबै विधामा खेलकुद प्रतियोगिता हुने बताए । ‘अब उपमहानगरमा खेलकुदको गतिविधि अघि बढ्छ’, न्यौपानेले भने, ‘उपमहानगरपालिकाको खेलकुद विकास समितिले गर्ने प्रतियोगिता एउटा क्यालेण्डरमा हुनेछ । योसँगै उपमहानगरपालिकाको सहयोगमा हुने प्रतियोगिता समेत व्यवस्थित गराउनुपर्नेछ ।’ पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका पदाधिकारीसहित उपमहानगरका विभिन्न शाखा प्रमुखहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *