एसईई परीक्षामा बागमती प्रदेशबाट १ लाख विद्यार्थी सहभागी हुँदै

हेटौंडा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत्र १५ गतेबाट शुरू हुँदैछ । एसईई परीक्षामा बागमती प्रदेशबाट १ लाख ३३ जना विद्यार्थी सहभागी हुने बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले जनाएको छ । एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाका विद्यार्थी रहेका छन् भने कम रसुवा जिल्लाको रहेको छ ।

ADVERTISEMENT

यस वर्ष परीक्षामा काठमाडौंबाट ३७ हजार २ सय ९१, भक्तपुरबाट ६ हजार ७७, ललितपुरबाट ९ हजार ७ सय ५८, काभ्रेपलाञ्चोकबाट ५ हजार ९ सय ६३, सिन्धुपाल्चोकबाट ३ हजार ७ सय १०, नुवाकोटबाट ३ हजार ९ सय २२, रसुवाबाट ५ सय ७१, धादिङबाट ४ हजार ९ सय १०, मकवानपुरबाट ६ हजार १ सय ६३, चितवनबाट १० हजार ८ सय ९१, रामेछापबाट २ हजार ८ सय १९, दोलखाबाट २ हजार ६ सय ४६ र सिन्धुलीबाट ५ हजार ३ सय १२ जना विद्यार्थी सहभागी हुँदैछन् । गत वर्ष बागमती प्रदेशबाट १ लाख १ हजार ७३३ जना विद्यार्थीले एसईइ परीक्षा दिइएका थिए । परीक्षामा देशभरबाट ५ लाख ३ हजार परीक्षार्थी सहभागी हुँदैछन्। चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो । राष्ट्रिय परीक्षा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो ।

ADVERTISEMENT

बोर्डका अनुसार न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने हुन्छ । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए । २ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अड्ढ ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *