हेटौंडा, ६ चैत, हेटौँडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन समितिको अध्यक्षमा नवीन सिग्देल चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको मंगलबार बसेको बैैठकले आगामी ३ वर्षका लागि सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
मंगलबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवस्थापन समिति चयन भएको विवरण सार्वजनिक गरिएको थियो। । समितिको सदस्यहरुमा नारायण तिमल्सिना, कृष्ण कँँडेल, गोमा सुनार र दिना श्रेष्ठ सर्वसम्मत चयन भएका छन् भने, राजेन्द्र बास्ताकोटी र राधिका चौलागाईलाई सदस्यमा मनोनित गरेका छन् ।
सो क्रममा नवनिर्वाचित अध्यक्ष सिग्देलले आफ्नो कार्यकालमा समग्र शिक्षाको गुणस्तरमा कुनै किसिमको सम्झौता नगरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अभिभावक, व्यवस्थापन समितिका सदस्यहरुको अपेक्षा र शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर समितिको अध्यक्ष बन्ने निर्णय गरेको भन्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आफू क्रियाशील भएर लाग्ने बताए । जिल्लाकै पुरानो विद्यालयको रुपमा रहेको भुटनदेवी माविलाई शैक्षिक सुधारमा अगुवा विद्यालयको रुपमा विकसित गर्दै लैजाने उनको भनाइ रहेको थियो ।
विद्यालयका पूूर्वप्रधानाध्यापक स्वर्गीय डेन्टी जंग शाहको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सहयोग गर्ने सिग्देलले घोषणा गरे । १२ कक्षासम्म पठनपाठन हुने भुटनदेवी माविमा २ हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा हेटौंडा–४ का वडा सदस्य जनरल श्रेष्ठ, गिता त्रिपाठी, विद्यालयका प्रधानाध्यापक माधव दाहाल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाललगायतको सहभागिता थियो ।







