हेटौँडा, बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गर्ने तयारी गरेको छ। शुक्रबार बसेको भाडा निर्धारण तथा समायोजन समितिको बैठकले उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारी साधनको भाडादर बढाउन सिफारिस गरेको हो।
समितिको निर्णयअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको भाडा साविकको दरमा अधिकतम २५।९६ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडादर १७।३५ प्रतिशतले बढाउने सिफारिस गरिएको छ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार ‘प्रदेश भाडा निर्धारणरसमायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ को नियम ४ को उपनियम ९१० बमोजिम गठित समितिले नयाँ भाडादर निर्धारण गरी सिफारिस गरेको हो। उक्त समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख संयोजक रहने तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि र यातायात व्यवस्था कार्यालयका प्रमुखहरू सदस्य रहने व्यवस्था छ।
यसैगरी, समितिले ट्याक्सीको भाडादरमा १२।३९ प्रतिशत र मालवाहक सवारी साधनमा २६।७९ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। भने विद्युतीय सवारी साधनको भाडादर भने यथावत् राख्ने निर्णय गरिएको छ, किनकि सोको भाडादर २०७९ सालमै निर्धारण भइसकेको छ।
महाशाखा प्रमुख श्रेष्ठका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण भाडा समायोजन गर्नुपर्ने अवस्था आएको हो। सिफारिस गरिएको नयाँ भाडादर स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ।
उक्त प्रस्ताव स्वीकृत भई प्रदेश राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर औपचारिक रूपमा लागू हुने जनाइएको छ।







