हेटौंडा, हेटौंडामा रहेका दुई वटा सहकारी संस्थाले शनिबार हेटौंडामा संयुक्त विशेष साधारण सभा सम्पन्न गरेको छ । हेटौंडा २ मा रहेको ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौंडा ४ मा रहेको सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडले संयुक्त विशेष साधारण सभा आयोजना गरेको हो ।
संयुक्त विशेष साधारणसभाका संयोजक तथा ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका पौडेलले स्थानीय तहमा सहकारीको ऐन, नियम नहुँदा सहकारीहरूको खराब गतिविधी मौल्याएको आरोप लगाए । ‘सबै सहकारी बदमासी छैन ।’ उनले भने –‘हेटौंडा उपमहानगरपालिकामा २१३ वटा सहकारी संस्था आबद्ध रहेका सहकारीको अभिलेख व्यवस्थित रहेको छ। हेटौंडा उपमहानगरपालिकामा आबद्ध रहेका सहकारीहरू भागी हाल्ने अवस्थामा छैनन् ।’
ऐन, कानुन, नियमावली सञ्चालन नभएका हेटौंडा उपमहानगरपालिकाभित्र रहेका १३ वटा सहकारीलाई खारेज गरेको उनले
बताए । हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखाले सहकारी संस्था कार्य समितिको नीति, विधी र सिद्धान्त अनुरुप सञ्चालन भइरहेको छ कि छैन र शेयर सदस्यले सहकारीलाई तिनुपर्ने दायित्व पूरा गरेको छ कि छैन भन्ने विषयमा सहकारीको मापन गरिरहेको उनले बताए । सहकारीले ऋण लगानी र बचतको मात्र कोरोबार नगरी आय आर्जनतर्फ पनि जोड्न उनले सहकारीलाई आग्रह गरे । कार्यक्रममा ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पराजुलीले संयुक्त संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दुवै सहकारीले शनिबार संयुक्त विशेष साधारणसभाको आयोजना गरी सहकारी एकीकरण हुन लागेको सजिलो उपभोक्ता सहकारी संस्थाका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । दुवै सहकारी संस्था एकीकरण भएपश्चात सहकारीको शेयर पुँजी १ करोड ३० लाख हुने र कारोबार ४ करोड पुग्ने ज्योति सहकारीका अध्यक्ष पराजुलीले जानकारी दिए । कार्यक्रममा ज्योति बचत तथा ऋण सहकारी संस्था, सजिलो उपभोक्ता सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र शेयर सदस्यको उपस्थिती रहेको थियो ।






