हेटौंडा, मंसिर ७ गतेदेखि पोखरामा हुने केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका चार जना खेलाडी छनौट भएका छन् ।

बागमती प्रदेश क्रिकेट संघले मंगलबार सूचना जारी गर्दै प्रतियोगिताको लागि १४ जना खेलाडीको नाम सार्वजनिक गर्दा मकवानपुरका चार जना खेलाडी अटाएका छन् । मकवानपुर क्रिकेट टिमका पूर्व कप्तान रामनरेश गिरी, रिजन ढकाल, शुभ कंसाकार र गौरभ खड्का टोलीमा परेका छन्।
राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी सन्दिप लामिछानेको कप्तानीमा मकवानपुरका चार खेलाडीसहित आशुतोष घिरइया, रित गौतम, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुवास खत्री, प्रतिस जिसी, दिपेश श्रेष्ठ प्रदेश टिममा छनौट भएका छन् ।
खेल तालिका अनुसार समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बी’ मा एपिएफ, लुम्विनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् । मंसिर १५ गते सम्म चल्ने प्रतियोगितामा हरेक दिन दुईवटा खेल
हुनेछन् । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बीच प्रतिश्पर्धा हुनेछ ।
उपाधी विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत पुरस्कार राखिएको छ ।






