हेटौंडा, भीमफेदी– ५ सुपिङस्थित शिवशक्ति कृषि सहकारी संस्थाले आज वडा नम्वर–२ भैंसेमा किसान चौतारी कार्यक्रम सञ्चालन गरेको छ । कृषकहरुलाई जैविक खेतीतर्फ उन्मुख गराउने उद्देश्यका साथ स्थानीय जनप्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ, साना किसान समूह तथा कृषि सहकारीका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो ।
सो अवसरमा विषादीमुक्त अर्गानिक उत्पादन प्रवर्द्धन गर्नका लागि कृषकहरुलाई जागरुक गराउने उद्देश्यका साथ सहमागितामुलक सुनिश्चितता प्रणाली (पीएसजी कार्यक्रम) लागू गर्ने सम्बन्धमा समेत सरोकारवालाहरुबीच अन्तरक्रिया भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले पालिकाले चाँडै नै कार्यविधि बनाएर पीएसजी कार्यक्रमको लोगो प्रमाणित गर्ने बताए । उनले शिवशक्ति कृषि सहकारीले पालिकामा कृषिसम्बन्धी कार्यक्रम आयोजना गरेर किसानहरुलाई अर्गानिक उत्पादनतर्फ जागरुक गराएको भन्दै धन्यवाद दिए । श्रेष्ठले पालिकाबाट कृषि क्षेत्रको प्रवर्द्धनका लागि थुप्रै रचनात्मक कार्यक्रम अघि सारिएको बताए । अर्गानिक उत्पादन हाटबजारबाट विक्रि वितरण गर्नका लागि धोर्सिङमा हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
‘पालिकाले किसानको सम्मान गर्दै कृषि औजार, वीउविजन तथा पशु वितरण गर्ने, बाली प्रवद्र्धनका लागि अनुदान दिने गरिरहेको छ । स्थानीय विभिन्न प्रजातिका वीउजीजनको उत्पादन तथा संरक्षणका लागि कृषिसम्वद्ध संस्थासँग समन्वय गरिरहेका छौँ । तपाईँहरु गर्छु भनेर आउनुहोस्, हामी सहयोग गर्न तयार छौँ ।’ उनले भने ।
त्यस्तै ५ नम्वर वडाअध्यक्ष जहार सिं लामा र २ नम्वर वडा अध्यक्ष काशीराम बज्युले स्थानीय उत्पादनलाई सहकारीमार्फत् संकलन गरी स्थानीय सरकारले बजारीकरणका लागि सहयोग गर्ने बताए । पीएसजी कार्यक्रम कृषक र उपभोक्ता दुवैको हितमा रहेको भन्दै उनीहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा क्रमश राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठ, उपाध्यक्ष अनिता बस्नेत, सचिव लक्ष्मी भण्डारी, कार्यकारी अधिकृत बेद लामिछाने, बागमती प्रदेश सचिव दीपक पुडासैनी लगायतले पीएसजी कार्यक्रमको विषयमा कृषकहरुलाई प्रष्ट पार्दैै कृषि उत्पादन संकलन केन्द्रको स्थापना गर्नुपर्ने, बाँझो जमिन राख्न नहुने, विषादीको प्रयोग घटाउँदै लैजानुपर्ने विषयमा जोड दिएका थिए ।
एफएफओ र विश्व खाद्य संगठनको आर्थिक सहयोगमा भएको कार्यक्रममा शिवशक्ति कृषि सहकारीका अध्यक्ष गिरीराज पुडासैनीको अध्यक्षता रहेको थियो भने सचिव प्रल्हाद पुडासैनीले सहजिकरण गरेका थिए ।






