हेटौंडा, नेपाल प्रेस युनियन मकवानपुरले यही चैत्र २५ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिवेशन रोक्न माग गरेको छ । लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अभियान तथा नयाँ सदस्यताको विषय नटुङ्गिएसम्म अधिवेशन रोक्न माग गरेको हो ।
महासंघ मकवानपुरले यही चैत २५ गतेका लागि अधिवेशनको मिति तोकेको थियो । युनियन मकवानपुर अध्यक्ष सुवास विडारीले मंगलबार महासंघ अध्यक्ष मणिराज गौतमलाई ज्ञापनपत्र बुझाउँदै महासंघले सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाउँदै जिल्ला अधिवेशन रोक्न माग गरेका हुन् । युनियन केन्द्रीय समितिको सुनसरीमा सम्पन्न बैठकले महासंघको साधारणसभाको विषयमा असहमति जनाउँदै सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र महासंघको जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । सोही बमोजिम जिल्लामा पनि अधिवेशन रोक्न माग गरिएको युनियन मकवानपुर अध्यक्ष विडारीले जानकारी दिए ।
सदस्यता टुंगो नलगाई अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ मकवानपुर नै हुने चेताजनी समेत दिइएको छ । ‘महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अभियानमा युनियन मकवानपुरको पूर्ण साथ सहयोग छ । तर, महासंघ मकवानपुरले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस गरी पठाएकोमा हाम्रो गम्भीर आपत्ति रहँदै आएको छ’, ज्ञापनपत्रमा भनिएको छ ।