हेटौंडा, नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको व्यवस्थापनमा साउन ७ गते हुने सांस्कृतिक कार्यक्रम ‘स्वर समर्पण’ को तयारी तीव्र पारिएको छ। कार्यक्रम सफल बनाउन पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ।
संयोजक बेरोजगारसहित उक्त उपसमितिमा स्वयंसेवक विभागबाट ७ जना र एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई–दुई जना गरी २७ जना सदस्य रहेका छन्। जनसंगठन समन्वय संयन्त्र र स्वयंसेवक विभागको संयुक्त बैठकले सुरेश बेरोजगारलाई कार्यक्रम अवधिभर स्वयंसेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।
बैठकमा जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउतले सांस्कृतिक कार्यक्रम र जनवादी गीत तयारीका विषयमा जानकारी गराएका थिए। त्यस्तै, पार्टी जिल्ला सदस्य तथा स्वयंसेवक विभाग प्रमुख शिवहरी दाहालले कार्यक्रम भव्य र सभ्य बनाउन स्वयंसेवक उपसमितिलाई सक्रिय भएर भूमिका खेल्न निर्देशन दिएका थिए।
कार्यक्रम स्थलको व्यवस्थापन, डिजिटल प्रचार सामग्री डिजाइनलगायत अन्य प्राविधिक पक्षको जिम्मेवारी प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसनलाई दिइएको छ।
बैठक नेकपा एमाले जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा तथा संयन्त्रका प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा पार्टी जिल्ला सदस्य दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौलागाईं, जनसाँस्कृतिक महासंघ अध्यक्ष राजुराम राउतलगायत जनसंगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसैबीच, नेकपा एमाले मकवानपुरले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा साउन ७ गते बिहान ७ बजे श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएको छ। पार्टीका जिल्ला सचिव सिता विष्टका अनुसार नेपालमा कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमाले भएको र त्यसका संस्थापक नेता पुष्पलालको योगदानलाई स्मरण गर्दै स्मृति दिवसलाई विशेषरूपमा मनाइने तयारी गरिएको छ।






