हेटौँडा, हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयको विद्यालय कप्तानमा गणेश रसाइली निर्वाचित भएका छन्। विद्यालयमा लोकतान्त्रिक अभ्यास तथा नेतृत्व विकासका लागि आयोजित विद्यार्थी निर्वाचनमा घडी चुनाव चिह्नका रसाइलीले ९६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी फूल चिह्नका सुशान्त भ्लोनले ६७ मत प्राप्त गरे। अन्य उम्मेदवारमध्ये सिक्का चिह्नका वियोग लामाले ३५, सर्ट चिह्नका किसन श्रेष्ठले २० तथा मन्दिर चिह्नका साहिल मगरले १० मत प्राप्त गरेका थिए। छात्रातर्फ दराज चिह्नकी मनिषा तामाङले ७७ मत प्राप्त गरेकी थिइन्।
विद्यालय भाइस कप्तान पदमा कम्प्युटर चिह्नकी रिचा आले मगर १७४ मत प्राप्त गर्दै निर्वाचित भइन्। उनका प्रतिस्पर्धी रेडियो चिह्नकी आर्या वाइबाले ७६ तथा स्केल चिह्नकी युना तितुङले ५६ मत प्राप्त गरेका थिए। कक्षागत मनिटरतर्फ कक्षा ४ बाट साइकल चिह्नकी मन्सिका गिरी १९ मत र कैँची चिह्नका रोशन सुनार २३ मत प्राप्त गर्दै विजयी भए। सोही कक्षामा मनिका गिरीले १७, बत्तिस पटेलले १० तथा निरज पटेलले कुनै मत प्राप्त गर्न सकेनन्। कक्षा ५ बाट कलम चिह्नका विनय परियार २० मत र छाता चिह्नकी पवित्रा मल्ल १८ मत प्राप्त गर्दै निर्वाचित भए। अन्य उम्मेदवारमध्ये आर्यन गाहले १०, रुथ परियार र एलिना घलानले समान ७–७, कृतिक खुलालले ४, निमित कार्कीले २ तथा सनिसा वाइबाले १ मत प्राप्त गरेका थिए।
कक्षा ६ बाट टोपी चिह्नकी रोनिका गोतामे ३२ मत र गितार चिह्नका अर्पण थिङ ३१ मत प्राप्त गर्दै विजयी भए। स्वरुपराज ढकालले १३ तथा सदीक्षा मल्लले ९ मत प्राप्त गरेका थिए। कक्षा ७ मा टेबल चिह्नकी सजिना मोक्तान २२ मत र झण्डा चिह्नका शिशिर पाख्रिन २० मत प्राप्त गर्दै मनिटरमा निर्वाचित भए। दीपिका खुलालले १६, राहुल परियारले १२ तथा सक्षमकुमार मिश्रले ६ मत प्राप्त गरेका थिए। कक्षा ८ मा चरा चिह्नकी पूर्णिमा श्रेष्ठ ३७ मत र नदी चिह्नका समर्थकुमार मिश्र ३८ मत प्राप्त गर्दै विजयी भए। सुमना भोम्जनले ८, सन्तोषीकुमार रामले ४ तथा सलोनी श्रेष्ठले १ मत प्राप्त गरेका थिए। कक्षा ९ मा कार चिह्नकी रोजिना सिन्तान ३६ मत र बोतल चिह्नका चन्द्रबहादुर बिक ३८ मत प्राप्त गर्दै निर्वाचित भए। रोनिशा रायले १६, निर्जल हटुवालले ८, युनिक सुनारले ६, सुनीता सिन्तान र रन्जना घलानले समान ३–३ तथा सरीता भ्लोनले १ मत प्राप्त गरेकी थिइन्।
कक्षा १० मा कम्पास चिह्नकी विपिशा बिक २८ मत र झोला चिह्नका प्रनिश गोङ्वा २० मत प्राप्त गर्दै विजयी भए। हिमाल खुलालले १५ तथा नम्रता पराजुलीले १० मत प्राप्त गरेका थिए। निर्वाचनबाट विद्यालय कप्तान, विद्यालय भाइस कप्तान तथा कक्षा ४ देखि १० सम्मका कक्षागत मनिटरहरू चयन भएका छन्। निर्वाचन कार्यक्रमअन्तर्गत जेठ २५ गते बिहान ११ बजे उम्मेदवारी दर्ता गरिएको थियो। जेठ २६ गते उम्मेदवारी फिर्ता तथा सहमतिको प्रयास गरिनुका साथै उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरी मतदाताहरूलाई मतदान शिक्षा दिइएको थियो।
जेठ २६ गते दिउँसो २ बजेदेखि २८ गते दिउँसो २ बजेसम्म उम्मेदवारहरूले प्रचारप्रसार तथा मत माग्ने अवसर पाएका थिए। जेठ २८ गते बिहान विद्यालयको प्रार्थना सभामा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै मन्तव्य राखेका थिए। त्यसपछि जेठ २८ गते दिउँसो २ बजेदेखि जेठ २९ गते बिहान ११ बजेसम्म मौन अवधि लागू गरिएको थियो। निर्वाचनमा विद्यालय कप्तान, भाइस कप्तान र कक्षागत मनिटर पदका लागि गरी कुल ४८ जना विद्यार्थी उम्मेदवार बनेका थिए। मतदान सम्पन्न भएपछि सबै शिक्षकहरूको सहयोग तथा उम्मेदवारहरूको रोहवरमा जेठ २९ गते दिउँसो २ बजेदेखि ४:३० बजेसम्म मतगणना गरिएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक तथा प्रमुख निर्वाचन अधिकृत डीबी बर्तौलाका अनुसार निर्वाचन प्रक्रिया पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। निर्वाचित विद्यार्थी प्रतिनिधिहरूले आगामी शैक्षिक सत्रभर विद्यालयको शैक्षिक, अतिरिक्त तथा अनुशासनसम्बन्धी गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।






