थाहानगरमा आयोजित तीनदिने पर्ल्स तथा कोपोमिस तालिम सम्पन्न

हेटौंडा, थाहा नगरपालिकाको आयोजना र बागमती प्रदेश सहकारी संघ लिमिटेडको समन्वयमा थाहा नगरपालिकामा ३ दिने पर्ल्स तथा कोपोमिस तालिम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिमिटेडका व्यवस्थापक रुपक घिमिरे र सहकारी प्रशिक्षक अनिलबीर बज्राचार्यले तालिम सहजिकरण गरेका थिए ।

ADVERTISEMENT

थाहा नगरपालिकका आर्थिक विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष हिरेन्द्र रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागी कुञ्छाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मनराज गोपालीले तालिम कार्यक्रम एकदमै उपयुक्त भएको र कोपोमिसको बारेमा राम्रोसँग बुझ्न पाएकोमा नगरपालिका र संघलाई धन्यवाद् ज्ञापन गरेका थिए । संघका व्यवस्थापक रुपक घिमिरेले तालिम कार्यक्रमले सहकारीको प्रभावकारिता वृध्दि गर्ने भएकाले कोपोमिस लगायतका तालिमहरु नगरपालिकाले निरन्तर रुपमा सञ्चालन गर्नपर्ने बताउँदै बागमती प्रदेश सहकारी संघ थाहा नगरपालिका लगायत प्रदेश भरिका ११९ वटै पालिकाहरुमा रहेका सहकारी संघ संस्थाहरुको क्षमता विकासको लागि लागिपरेको बताए ।

कार्यक्रमका थाहा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीले तालिममा सिकेका कुरा आफ्नो संस्थामा गएर कार्यान्वयन गर्न आग्रह गरे । थाहा नगरपालिकाले आफ्नो मातहतका सहकारीहरुको प्रवर्धनको लागि तालिमलाई निरन्तरता दिनेमा उनले जोड दिएका थिए । कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिमिटेडका व्यवस्थापक रुपक घिमिरे, थाहा नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *