पुरनबहादुर जोशीसहित विभिन्न व्यक्ति सम्मानित

हेटौंडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा शिक्षाविद् पुरनबहादुर जोशीलाई आज शनिबार सम्मान गरेको छ । नेवाः गुठी खल मकवानपुरको तेस्रो साधारणसभामा जोशीसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको हो । कार्यक्रममा बीबीए सातौ सेमेष्टरमा नेपाल टप भएकी श्रृष्टी महर्जन, मकवानपुर बहुमुखी क्याम्पस बीबीए संकायमा नेपाल टप भएकी ईशा श्रेष्ठ, बालकुमारी पार्टी प्यालेसका सञ्चालक राजेश मानन्धर, उषा बासुकलालाई सम्मान गरेको छ ।

ADVERTISEMENT

संस्थाले नेवा समुदायबाट विभिन्न क्षेत्रमा नेतृत्व प्रदान गर्ने व्यक्तिलाई पनि सम्मान गरेको छ । जसमा लघु वित्त उद्यमी पुरस्कार २०८०बाट पुरस्कृत भएकी मेनुका श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ अध्यक्ष देवकुमार श्रेष्ठ, नेपाल मानव अधिकार संगठन मकवानपुरका अध्यक्ष सर्मिला श्रेष्ठ, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठ, सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिव नारायण श्रेष्ठ र हेटौंडा जेसीज मकवानपुरका अध्यक्ष विकेशलाल श्रेष्ठलाई सम्मान गरेको हो । नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ९१ वर्षीय सोममाय बलामी, तिर्थमाया मानन्धर र रुद्रहरी जोशीलाई जेष्ठ नागरिकबाट अभिनन्दन गरिएको थियो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेपालको भाषा र संस्कृतिको पहिचानलाई विस्तार गर्नुपर्ने बेला आएको बताएका छन् । विक्रम सम्वत र रन्जना लिपिबाट नै संयुक्त राष्ट्र संघबाट नेपालले सदस्यता लिइएको बताउँदै मन्त्री श्रेष्ठले भने –‘नेपालको भाषा र कला भएमा मात्र देश बाच्ने छ।’ हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जनले नेपालमा तामाङ र नेवारी भाषालाई काम काजी भाषा लागू गराउन विभिन्न लबिङ गरेको बताए । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर बैशाख २४ गते सार्वजनिक बिदाको घोषणा गरेको उनले बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले नेवाः गुठी खललाई १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेवा गुठी खल मकवानपुरको तेस्रो साधारण सभामा नेवा एक चिनारी किताब पनि विमोचन भएको छ ।

कार्यक्रममा जनता समाजवाद पार्टीका केन्द्रीय सदस्य विधुत वर्जाचार्य, मकवानपुर महिला उद्योग व्यवसायी संघका अध्यक्ष सुशिला पाण्डे मानन्धरलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *